राजमार्गमा छाडा चौपाया दुर्घटनाका कारण
महोत्तरी, असोज २३ : महोत्तरीका नगर चोक, बजार क्षेत्र र बस्तीमा छाडा चौपायाका कारण दुर्घटना हुने गरेको छ।
जथाभावी पशु छाड्ने प्रव....
महोत्तरी, असोज २३ : महोत्तरीका नगर चोक, बजार क्षेत्र र बस्तीमा छाडा चौपायाका कारण दुर्घटना हुने गरेको छ।
जथाभावी पशु छाड्ने प्रवृत्ति बढेपछि यहाँका राजमार्ग र अन्य क्षेत्रमा सवारी दुर्घटना निम्त्याएको ट्राफिक प्रहरीको भनाईछ ।
घरपालुवा गाई, सुँगुर, बाख्रापाठा र घोडासहितका पशु चौपाया नगर क्षेत्रका चोक, बजार र बस्ती क्षेत्रमा छाडा विचरण गराउने आम प्रचलन बढेसँगै दुर्घटनाका साथै ट्राफिक व्यवस्थापनमा ठूलो समस्या बनेको छ । बटुवा र स्थानीय पसलेलाई पनि छाडा चौपायाबाट असुरक्षा भइरहेको छ । बटुवाहरू पटक÷पटक गाई, साँढे, घोडा आदि चौपायाको आक्रमणमा परेर घाइते समेत भएका छन् ।
बिहान मिरमिरे उज्यालो देखिनासाथै यस्ता पशु पाल्नेहरुले आफ्ना वस्तु फुकाएर बजार, चोकतिर लघार्ने गरेका छन् । चोक र बजार परिसरमा खुला विचरण गर्ने पशुवस्तुका कारण पैदल यात्रु सबैभन्दा बढी मर्कामा पर्ने गरेका छन् । जिल्ला सदरमुकाम जलेश्वरसहित सबैजसो बजार क्षेत्रका मुख्य सडक पेटीमा सडक ढाकेर गाईवस्तु देखिनु यहाँको आम कुराजस्तै बनेको सर्वसाधारणको गुनासो छ ।
“बजार, चोकतिर हिँड्डुल गर्न डरमर्दो भएको छ”, बर्दिवास–१४ की गृहिणी पुनम महतोले भनिन्, “तिखा सिङ भएका गाईले हानेर लडाउने हुन् कि भन्ने चिन्ता हुन्छ ।”
बर्दिवासमा यिनै छाडा गाई पछ्याउने साढे दर्जनौँ सङ्ख्यामा विचरण गरिरहेका देखिन्छन् । राष्ट्रिय महत्वका दशैँ, तिहार र छठजस्ता धार्मिक चाडबाडमा बजार, सडकक्षेत्र सफा गरिनुपर्ने भए पनि छाडा पशु चौपायाले दैनिक रुपमा फोहर बढाएका सर्वसाधारणको गुनासो छ । अहिले दशैँभरिको फोहरको डुङ्गुरमा सुँगुरले खोस्रेर जताततै दुर्गन्ध बढाएको देखिन्छ ।
गाईबाहेक खुला चरनमा छाडिने सुँगुरका कारण त नगर क्षेत्रका बासिन्दा आजित नै भएका छन् । एकाबिहानै ‘च्वाँ–च्वाँ’ गर्दै ५०÷६० को सङ्ख्यामा आँगन÷आँगन चाहर्ने सुँगुँरको बिष्टा सोहोरेर हैरान भएको जलेश्वर नगर क्षेत्रका गृहिणीको गुनासो छ ।
गाई–गोरु, बाख्रापाठा आँगनमै आइपुग्दा लाठो देखाएर धपाउन सकिने भए पनि परम्परादेखि सुँगुर छुन परहेज गर्ने केही जाति समुदायको चलन छ । “बाबु पुर्खादेखि नै सुँगुर छोइएन”, जलेश्वर–२ बुद्धिजीवीचोक नजीककी गृहिणी रञ्जु बराल भन्छिन्, “हामी त यो सुँगुर आतङ्कले आजित नै भयौँ ।”
मुस्लिम धर्मावलम्बीको सघन बसोबास भएका बस्तीमा छाडा सुँगुरले सर्वसाधारण झनै आजित भएका छन् । सुँगुर छुन नहुने धार्मिक आस्था भएका मुस्लिम बस्तीमा एकाबिहानै फोहरका डुङ्गुर उध्रिन्दै सुँगुर पस्ने गरेका जलेश्वर–१ का महमुद आलमको गुनासो छ । रासस