Kathmandu Press

निर्वाचन शान्तिपूर्ण बनाउन मुख्यमन्त्री पोखरेलको निर्देशन

पाेखरा, चैत २३ : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आसन्न स्थानीय तहको निर्वाचन भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा प्रमुखलाई निर्देशन दिएका छन्।आज...
निर्वाचन शान्तिपूर्ण बनाउन मुख्यमन्त्री पोखरेलको निर्देशन

पाेखरा, चैत २३ : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आसन्न स्थानीय तहको निर्वाचन भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा प्रमुखलाई निर्देशन दिएका छन्।

आज बागलुङमा आयोजित साबिकको धौलागिरिका चार जिल्लाका सुरक्षा प्रमुखहरुलाई निर्वाचन केन्द्रित सुरक्षा योजना बनाउन अनुरोध गर्दै नेपालीले सबै शक्ति भयरहित वातावरणमा मतदान गर्न सक्ने वातावरण बनाउन निर्देशन दिएका हुन्।

निर्वाचन सम्पन्न गर्न प्रदेश सरकार तत्पर रहेको भन्दै उनले जिल्लाको अवस्था अनुसार सुरक्षा योजना बनाउन निर्देशन दिएका हुन्। अन्तर जिल्ला सुरक्षा समन्वय बैठकमा चार जिल्लाको सुरक्षाको अवस्था, सबल पक्ष र चुनौतीका बारेमा प्रमुख जिल्ला अधिकारीहरूको प्रस्तुति सुनेपछि उनले उक्त निर्देशन दिएका हुन्।

प्रदेशको आन्तरिक मामिला मन्त्रालयले गरेको कार्यक्रममा बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकाय प्रमुख सहभागी हुनुहुन्थ्यो। 

कार्यक्रममा मुख्यमन्त्री पोखरेलले भने, 'निर्वाचनमा कति बेला कहाँ के हुन्छ भन्न सकिँदैन, त्यही अनुसार गम्भीरतापूर्वक कार्ययोजना बनाएर कार्यान्वयन गर्न आग्रह गर्छु।' निर्वाचन आयोग र सङ्घ सरकारले निर्वाचनका लागि विशेष योजना बनाउने भए पनि यसमा प्रदेश सरकार समन्वय गरेर अगाडि बढ्ने नेपालीले बताए।

बागलुङका प्रमुख जिल्ला अधिकारी रमेश ढकाल, पर्वतका नारायणप्रसाद सापकोटा, म्याग्दीका चिरञ्जीवी राना तथा मुस्ताङका नेत्रप्रसाद शर्माले जिल्लाको सुरक्षा अवस्था र चुनौतीका विषयमा जानकारी गराएका थिए। 

मुख्यमन्त्री पोखरेलले सुरक्षा समन्वय बैठकमा सहभागी हुनुपूर्व नेपालकै प्रसिद्ध धार्मिक शक्तिपीठ कालिका भगवती मन्दिरको दर्शन गरेका थिए। मुख्यमन्त्री नेपालीलाई कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले खादा ओढाएर सम्मान गरेका थिए।

मुख्यमन्त्री नेपालीका साथ बागलुङ आएका नेपाली प्रहरी गण्डकी प्रदेश प्रमुख डिआइजी दिवेश लोहनीलगायतका व्यक्तिलाई समेत गुठीका अध्यक्ष खड्काले स्वागत गरेका थिए।

प्रकाशित मिति: १५:०४ बजे, बुधबार, चैत २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्