राष्ट्रिय प्रत्यारोपण केन्द्रमा दुई जनाको कलेजो प्रत्यारोण
भक्तपुर, चैत २३: शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा दुई जनाको सफलतापूर्वक कलेजो प्रत्यारोपण गरिएको छ।अस्पतालका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ र भारतको दिल्लीस्थित...
भक्तपुर, चैत २३: शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा दुई जनाको सफलतापूर्वक कलेजो प्रत्यारोपण गरिएको छ।
अस्पतालका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ र भारतको दिल्लीस्थित म्याक्स हस्पिटलका डा. शलिन अग्रवाल नेतृत्वको टोलीले चैत २० र २१ गते दुई जनाको कलेजो प्रत्यारोपण गरेको हो।
आइतबार कीर्तिपुरका ४६ वर्षीय इच्छाकुमार महर्जन र सोमबार झापाका ५१ वर्षीय रामचन्द्र वलीको कलेजो सफल रुपमा प्रत्यारोपण गरिएको केन्द्रका कार्यकारी निर्देशक डा. श्रेष्ठले जानकारी दिए। महर्जनलाई उनकै पत्नी ४३ वर्षीया ज्ञानीशोभा महर्जनले र वलीलाई उनकी १९ वर्षीया छोरी सुमित्रा वलीले कलेजो दिएका हुन्।
दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। जटिल शल्यक्रियाका लागि अत्याधुनिक सुविधाले सम्पन्न यस केन्द्रमा न्यूनतम शुल्कमा कलेजो प्रत्यारोपण गरिँदै आएको छ। आगामी महिनादेखि प्रत्येक महिना कम्तीमा दुई जनाको कलेजो प्रत्यारोपण नियमितरुपमा गर्ने तयारी गरिएको डा. श्रेष्ठले बताए।
कलेजो प्रत्यारोपणमा डा. प्रदेज सापकोटा, डा. क्षेतेन योञ्जन तामाङ, डा. अनिषा तिवारी, डा. ललितकुमार दास, डा. कर्ण राजवंशी, डा. आरती राई, डा. निभा श्रेष्ठ, डा. रेखा श्रेष्ठ, डा. रश्मित श्रेष्ठ, डा. शिवसुन्दर राजचल, डा. सुमन र डा. कृष्ण बुढाथोकी तथा कोपिला दाहाल, बबिता लवजु, अनिता कार्कीलगायतको टोली संलग्न रहेको थियो।
नेपालमा पहिलोपटक २०७२ मङ्सिरमा कलेजो प्रत्यारोपण यहीँ केन्द्रमा गरिएको थियो। हालसम्म आठ जनाको कलेजो प्रत्यारोपण सफलतापूवर्क गरिएको छ। सरकारले मिर्गौला प्रत्यारोपण निःशुल्क गरेजस्तै कलेजो प्रत्यारोपणमा पनि सहुलियत दिनुपर्ने डा. श्रेष्ठको भनाइ छ।











