नेपाल बार एसोसिएशनको मतगणना आज सुरु हुँदै

काठमाडौं, चैत २२ : नेपाल बार एशोसिएशनको २६औँ केन्द्रीय कार्यसमितिको लागि भएको निर्वाचनको आज मतगणना सुरु हुने भएको छ।
नेपाल बार एशोसिएशनका प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता उषामल्ल पाठकका अनुसार ३४ केन्द्रबाटै मतपेटिका काठमाडौँ केन्द्रमा आइपुगेको र आज बिहान ९ बजेबाट मतगणना सुरु हुनेछ।
यही चैत १९ गते काठमाडौं केन्द्रसहित देशभर ३५ स्थानबाट शान्तिपूर्ण तरिकाले मतदान सम्पन्न भएको थियो। बारमा अध्यक्षसहित ११ पदाधिकारी र सदस्य गरी २५ जनाको कार्यसमितिका लागि भएको निर्वाचनमा नौ हजार ७०८ अधिवक्ता मतदाताले मतदान गरेका थिए। त्यसमध्ये उपत्यकामा पाँच हजार ७०० र उपत्यका बाहिर तीन हजार ५०० रहेका थिए।
नयाँ कार्यसमितिका लागि प्रगतिशील तथा पेशागत कानून व्यवसायी समूह र बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी समूहबीच प्रतिस्पर्धा भएको छ।
प्रगतिशील तथा पेशागत कानुन व्यवसायी समूहको नेतृत्व वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारी र बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानून व्यवसायी समूहको नेतृत्व गोपालकृष्ण घिमिरेले गरेका छन्।
बारमा अध्यक्षका लागि व्यक्तिगतरूपमा र समूहगतरूपमा गरी आठ जनाको उम्मेदवारी परेको छ। संसद्मा प्रतिनिधि नभएको साना राजनीतिक सम्बद्ध समूहबाट पृथ्वीनाथ राईले प्रतिनिधित्व गरेका छन्।
नेमकिपा कानून अध्ययन समाज नेपाल समूहबाट अनिता जोघारी अध्यक्षका उम्मेदवार छन्। त्यस्तै, उत्तमबहादुर श्रेष्ठ र कमलप्रसाद मलेगाले अध्यक्षको उम्मेदवारी दिएका छन्।
संसद्मा प्रतिनिधि नभएको साना राजनीतिक दलसम्बद्ध समूहबाट अमिता लक्ष्मी सैजू श्रेष्ठ र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल सम्बद्ध समूहको नेतृत्व उद्धवचन्द्र घिमिरे अध्यक्षका लागि उम्मेदवार बनेका हुन्।











