तरुण दलका नवनियुक्त अध्यक्ष गुरुङले सम्हाले जिम्मेवारी
काठमाडौं, चैत २१ : नेपाल तरुण दलका नवनियुक्त अध्यक्ष विद्वान गुरुङले औपचारिक रुपमा जिम्मेवारी सम्हालेका छन्।निवर्तमान अध्यक्ष जितजंग बस्नेतले आज (सोमबार) उनलाई तरुण दलको कार्यालयमा एक...
काठमाडौं, चैत २१ : नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलका नवनियुक्त अध्यक्ष विद्वान गुरुङले पदभार ग्रहण गरेका छन्।
निवर्तमान अध्यक्ष जितजंग बस्नेतले आज (सोमबार) उनलाई तरुण दलको उक्त दलको केन्द्रीय कार्यालय रविभवनमा आयोजित एक कार्यक्रमबीच स्वागत गर्दै पद हस्तान्तरण गरेका हुन्।
पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले यही चैत ८ गते गुरुङलाई अध्यक्षमा मनोनीत गरेका थिए। बस्नेत कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएपछि तरुण दल नेतृत्वविहीन बन्दै आएको थियो।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको फागुन ३ गतेको बैठकले म्याद सकिएका नेविसंघ, तरुण दललगायत १० भ्रातृ संस्था विघटन गर्दै तदर्थ समिति गठन गर्ने निर्णय गरेको थियो। अध्यक्ष गुरुङ यसअघि तरुण दलको कोषाध्यक्ष थिए।
औपचारिक रूपमा जिम्मेवारी सम्हाल्दै गुरुङले स्थानीय तहको आसन्न निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई जिताउन चुनावमा आफू र सिंगाे संस्थालाई परिचालन गर्ने बताए।
निवर्तमान अध्यक्ष बस्नेतले गुरुङको कार्यकालमा उदाहरणीय तरुण दल बनोस् भनी शुभकामना दिए। त्यसका लागि आफ्नो पनि सहयोग रहने बताए।
अर्का पूर्वअध्यक्ष उदयशमशेर राणाले तीनै तहको निर्वाचनको जिम्मेवारी तरुण दलको काँधमा आएकाले यसलाई थप गतिशील बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिए।











