श्रीलंकाको केन्द्रीय बैंकका गभर्नरले पनि दिए राजीनामा
कोलम्बो, चैत २१ : श्रीलङ्काको केन्द्रीय बैंकका गभर्नरले पनि सोमबार पदबाट राजीनामा दिएका छन्। गभर्नर अजिथ काब्रालले मुलुकको आर्थिक सङ्कट आफूले सम्हाल्न नसक्ने अवस्थामा...
कोलम्बो, चैत २१ : श्रीलङ्काको केन्द्रीय बैंकका गभर्नरले पनि सोमबार पदबाट राजीनामा दिएका छन्।
गभर्नर अजिथ काब्रालले मुलुकको आर्थिक सङ्कट आफूले सम्हाल्न नसक्ने अवस्थामा पुगेको भन्दै राजीनामा दिनुपरेको उल्लेख गरेका छन्।
उनले राष्ट्रपति गोटाबय राजापाक्षे समक्ष राजीनामा दिएको जनाउनु भएको छ। श्रीलङ्कामा यसअघि सबै मन्त्रीहरूले पनि राजीनामा दिएका थिए।
देशमा आर्थिक सङ्कटसँगै राजनीतिक सङ्कट पनि गहिरिँदै गएपछि जिम्मेबार पदाधिकारीहरूले धमाधम राजीनामा दिन थालेका छन्।
जिम्मेवार पदाधिकारीहरूले नै धमाधम राजीनामा दिन थालेपछि राष्ट्रपति गोटाबाय राजापाक्षे र प्रधानमन्त्री महेन्दा राजापाक्षे थप सङ्कटमा परेका छन्।
आर्थिक सङ्कटका कारण मर्कामा परेपछि असन्तुष्ट नागरिकले सरकारका विरुद्धमा प्रदर्शन गर्न थालेपछि राजनीतिक सङ्कट सुरु भएको हो।
आन्दोलनकारीले राष्ट्रपति राजापाक्षेको निवास घेर्न थालेपछि सरकारले शनिबार बेलुका ६ बजेदेखि ३६ घण्टे कफ्र्यु आदेश जारी गरेको छ।
आर्थिक संकटसँगै राष्ट्रपति र उच्च सरकारी अधिकारीहरूविरुद्ध सर्वसाधारणले आक्रोश व्यक्त गर्दै आन्दोलित भएपछि सरकारले श्रीलङ्कामा देशव्यापी सुरक्षाका लागि भन्दै सङ्कटकालको घोषणा गरेको छ।
चरम आर्थिक सङ्कट भोगिरहेको श्रीलङ्कामा हिंसात्मक गतिविधिहरू बढ्न थालेकोले सङ्कटकालको घोषणा गर्नु परेको सरकारी अधिकारीहरूले जनाएका छन्।
सार्वजनिक व्यवस्थाको संरक्षण र समुदायको जीवन रक्षाका लागि आवश्यक आपूर्ति र सेवाहरूको मर्मतका लागि भन्दै आपतकालीन अवस्थाको घोषणा गरिएको सरकारले जनाएको छ।
सरकारको विरोधमा प्रदर्शन गर्नेहरूलाई नियन्त्रणमा लिएर हिरासतमा राख्न पनि सरकारले आदेश जारी गरेको छ।
आर्थिक मन्दीसँगै अत्यधिक मूल्यवृद्धि र विद्युत आपूर्तिसमेत बन्द हुँदा सर्वसाधारण थप मारमा परेकाले उनीहरु आन्दोलित भएका हुन्।
सन् १९४८ मा बेलायतको उपनिवेशबाट स्वतन्त्र भएको श्रीलङ्का पछिल्लो समय चरम आर्थिक सङ्कटका कारण अत्यावश्यक वस्तुको समेत आपूर्ति गर्न नसक्दा आम सर्वसाधारण मर्कामा परेका छन्।












