चुनावी तालमेलका लागि मधेशमा गठबन्धनले थाल्यो तयारी
जनकपुर, चैत २१ : आगामी स्थानीय तहको चुनावमा तालमेल गर्न मधेशमा सत्ता साझेदार दलले तयारी थालेका छन्।सत्तारुढ गठबन्ध आबद्ध दलहरुले मधेश प्रदेशको सबै...
जनकपुर, चैत २१ : आगामी स्थानीय तहको चुनावमा तालमेल गर्न मधेशमा सत्ता साझेदार दलले तयारी थालेका छन्।
सत्तारुढ गठबन्ध आबद्ध दलहरुले मधेश प्रदेशको सबै पालिकाको समीक्षा गरी प्रतिवेदन बुझाउन पत्राचार गर्ने निर्णय गरेको छ।
आसन्न स्थानीय तह निर्वाचनमा तालमेल गर्ने तयारीस्वरुप बसेको सत्ता साझेदारी दलहरुको मधेस प्रदेशस्तरीय बैठकले प्रदेशको आठवटै जिल्लास्तरीय गठबन्धनलाई प्रत्येक पालिकाको समीक्षा गरेर यही चैत २२ गते मङ्गलबारसम्म प्रतिवेदन बुझाउन सबै जिल्लामा पत्राचार गर्ने निर्णय गरेको जनता समाजवादी पार्टी मधेस प्रदेशका अध्यक्ष रामबाबु यादवले जानकारी दिए।
जनकपुरधामस्थित नेपाली कांग्रेसको प्रदेश कार्यालयमा बसेको बैठकमा तालमेल कसरी गर्ने, कुन स्थानीय तहमा कुन पार्टीले उम्मेदवारी दिनेलगायतका विषयमा छलफल भएको र जिल्लास्थित पालिकाको अवस्थाबारे प्रतिवेदन आएपछि थप छलफल गरिने निर्णय भएको उनले बताए।
बैठकमा सत्ता गठबन्धनमा आबद्ध जसपासहित कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) पार्टीका प्रदेश अध्यक्ष तथा शीर्ष नेताहरु सहभागी थिए।
आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा गठबन्धन गर्ने निर्णय सत्ता गठबन्धनले गरिसकेको छ। सो निर्णयपछि मधेस प्रदेशमा सत्ता गठबन्धनमा आबद्ध दलले छलफल अगाडि बढाएको छ । मधेस प्रदेशमा एक महानगरपालिकासहित १३६ स्थानीय तह छन्।











