Kathmandu Press

पेट्रोलियम पदार्थलगायत उपभोग्य वस्तु सहज उपलब्ध गराउन गृहमन्त्रीको निर्देशन

सरकारले पेट्रोलियम पदार्थ, दैनिक उपभोग्य वस्तु सहज उपलब्ध गराउन सरोकारवाला निकाय र व्यवसायीलाई निर्देशन दिएको छ। प्रधानमन्त्रीको कार्यभारसमेत सम्हालेका गृहमन्त्री बालकृष्ण खाँणले अत्यावश्यक वस्तुमा...
पेट्रोलियम पदार्थलगायत उपभोग्य वस्तु सहज उपलब्ध गराउन गृहमन्त्रीको निर्देशन

काठमाडाैं, चैत २० : सरकारले पेट्रोलियम पदार्थ, दैनिक उपभोग्य वस्तु सहज उपलब्ध गराउन सरोकारवाला निकाय र व्यवसायीलाई निर्देशन दिएको छ। 

प्रधानमन्त्रीको कार्यभारसमेत सम्हालेका गृहमन्त्री बालकृष्ण खाँणले अत्यावश्यक वस्तुमा मूल्यवृद्धि नगर्न, बिक्रीवितरण नरोक्न र पेट्रोलियम पदार्थ सहज उपलब्ध गराउन निर्देशन दिएका हुन्।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले गृहमन्त्रीको भनाइ उल्लेख गर्दै भने, 'व्यवसायीका समस्या भए संवादमार्फत समाधान गर्न सरकार तयार छ। तर समस्या देखाएर अभाव सिर्जना गरिएमा कानुनअनुरुप कारबाहीका लागि सरकार बाध्य हुन्छ।'

उनका अनुसार आज मन्त्री खाँणले गृहलगायत सरोकारवाला मन्त्रालयका सचिवलाई निर्देशन दिएको र त्यसैअनुरुप गृहले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई सर्कुलर गरी प्रतिवेदन पठाउन निर्देशन दिएको छ।

दैनिक उपभोग्य वस्तुको अस्वाभाविक मूल्यवृद्धि भएको गुनासो बढेपछि गृहमन्त्रालयले आइतबारबाटै ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई बजार अनुगमन समितिमार्फत अनुगमन गरी प्रतिवेदन पठाउन पनि भनेको छ।

गृह प्रवक्ता पाखरेलका अनुसार जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा हुने अनुगमन समितिले मूल्य बढे÷नबढेको, दैनिक उपभोग्य वस्तु अभाव भएनभएको अनुगमन गरेर सबै जिल्लाले मन्त्रालयमा रिपोर्ट पठाउनेछन्।

त्यस्तै मन्त्रालयले उद्योग वाणिज्य सङ्घको समन्वयमा बजारमा उपभोग्य वस्तुको आपूर्ति, सहजता र मूल्यवृद्धि नियन्त्रणलगायत विषयमा अनुगमन गर्न र विकृति देखिएमा प्रचलित कानुन अनुरुप सजाय गर्नसमेत निर्देशन दिएको छ।

पेट्रोलिय पदार्थ आयातमा व्यवसायीले गरेको अवरोध शनिबार मात्रै सहमति भएर टुङ्गिएको थियो तर, अहिले पनि उपत्यकाका पेट्रोल पम्पमा उपभोक्ताको लामो लाइन देखिएपछि सरकारले किन समस्या समाधान भएन भनेर अनुगमन गर्न लागेको हो। धेरैजसो पम्पले पेट्रोल छैन भनी लेखेर टाँसेको पाइएको छ। 

प्रधानमन्त्रीको कार्यभारसमेत सम्हाल्नुभएका गृहमन्त्री खाँणले पेट्रोलियम पदार्थको समस्या समाधानका लागि सहमतिमा आएकोमा व्यवसायीलाई धन्यवाद दिँदै व्यवसायीका समस्या संवादमार्फत टुंग्याउन सरकार तयार रहेकोसमेत बताएका छन्।

प्रकाशित मिति: १३:५८ बजे, आइतबार, चैत २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्