देशको विकास गर्ने एक मात्र पार्टी एमाले : ओली
खोटाङ, चैत १९ : एमालेका अध्यक्ष केपी ओलीले देशको विकास गर्ने एक मात्र पार्टी एमाले भएकाे दाबी गरेका छन्।एमाले खोटाङले आज (शनिबार) सदरमुकाम दिक्तेलमा...
खोटाङ, चैत १९ : एमालेका अध्यक्ष केपी ओलीले देशको विकास गर्ने एक मात्र पार्टी एमाले भएकाे दाबी गरेका छन्।
एमाले खोटाङले आज (शनिबार) सदरमुकाम दिक्तेलमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उनले त्यस्ताे दाबी गरेका हुन्। वृद्धवृद्धादेखि केटाकेटीसम्मको संरक्षण र देशको विकास एमालेले मात्र गर्न सक्ने उनकाे भनाइ थियाे।
अध्यक्ष ओलीले नेपालमा सामाजिक सुरक्षा भत्ता दिन सुरु गर्ने एमाले नै भएको उल्लेख गर्दै कर्मचारीको तलब बढाउने, नयाँ विकासका अवधारणा अघि सार्ने, जनता र गरिब सम्झने पार्टी पनि एमाले नै रहेको जिकिर गरे।
समृद्ध नेपाल निर्माण गर्ने भयो भनेर विरोधीले जालझेल गरेर एमालेलाई सरकारबाट हटाएको उनको भनाइ थियो। तर फेरि एमालेको सरकार आउने विश्वास उनले व्यक्त गरे।
‘देशैभरि एमालेमा जनताको लहर रहेको छ। एमाले पुनः सरकारमा जानेछ र समृद्ध नेपाल निर्माण गर्नेछ,’ उनले भने।
२०५१–५२ सालतिर पनि अदालतले एमाले सरकार ढालेको तर फेरि जनतामतले सरकारमा आएको स्मरण गर्दै उनले त्यस्तो अवस्था फेरि दोहोरिने अध्यक्ष ओलीले दाबी गरे।
हेलिकप्टर चढेर सवा १२ बजे खोटाङको हलेसीमा पत्नी राधिका शाक्य, एमालेका उपाध्यक्ष एवं पूर्वगृहमन्त्री रामबहादुर थापा, संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई लगायतका नेतासँग ओली आएका हुन्।
हेलिकप्टरबाट उत्रनेबित्तिकै शुरुमा ओली हलेसी मन्दिरको दर्शन गरेका थिए। हलेसी मन्दिर व्यवस्थापन एवं प्रवर्धनका लागि परिवारका तर्फबाट अध्यक्ष ओलीले २ लाख नगद समेत सहयोग गरे। छोटो समय सम्बोधन गरेर उनी काठमाडौँ फर्किसकेका छन्।










