प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीबीच सीमा समस्याबारे छलफल
काठमाडौं, चैत १८ : भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँगको भेटमा सीमा समस्याबारे छलफल गरेका छन्।भारतीय प्रधानमन्त्रीको कार्यलय हैदराबाद हाउसमा...
काठमाडौं, चैत १८ : भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँगको भेटमा सीमा समस्याबारे छलफल गरेका छन्।
भारतीय प्रधानमन्त्रीको कार्यलय हैदराबाद हाउसमा आज (शनिबार) भएको भेटवार्ताका क्रममा देउवा र मोदीबीच सीमा समस्याबारे कुराकानी गरेको जनाइएको छ।
भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले दुई देशबीचको सीमा समस्याबारे छलफल गरिएको बताएका थिए। उनले सीमा समस्यालाई द्विपक्षीय संयन्त्रहरुमार्फत समाधान गर्ने प्रस्ताव राखेको उल्लेख गरे।
‘हामीले सीमा समस्याका बारेमा समेत छलफल गर्यौं । यसको समाधानका लागि द्वीपक्षीय वार्ताका माध्यमबाट अगाडि बढ्नेमा भारतीय प्रधानमन्त्री मोदी सहमत हुनुभएको छ,’ प्रधानमन्त्री देउवाले भने।
आजै नेपाल र भारतका बीचमा प्रतिनिधिमण्डलस्तरमा छलफल भई चार समझदारीमा हस्ताक्षरसमेत भएको छ।
आजै दुई देशका प्रधानमन्त्रीले भारतको सहयोगमा निर्मित नेपालको कुर्थादेखि भारतको जयनगरसम्मको ३५ किलोमिटर लामो रेल लिंक र भारतकै सहयोगमा बनाइएको सोलु करिडोर प्रसारण लाइनको पनि उद्घाटन गरेका छन्।











