प्रधानमन्त्री देउवा र मोदीले हरियो झन्डा देखाएपछि जयनगरबाट गुड्याे रेल
भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र उनका समकक्षी नरेन्द्र मोदीले आज (शनिबार) भारतको राजधानी दिल्लीस्थित हैदरावाद हाउसबाट भर्चुअल माध्यमले हरियो झन्डा देखाएसँगै रेल जयनगरबाट गुडेकाे छ।
काठमाडाैं, चैत १९ : भारतीय सहयोगमा बनाइएकाे नेपालको कुर्थादेखि भारतको जयनगरसम्म ३५ किलोमिटर लामो सीमापार रेल लिंकमा रेल गुड्न थालेकाे छ।
भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र उनका समकक्षी नरेन्द्र मोदीले आज (शनिबार) भारतको राजधानी दिल्लीस्थित हैदरावाद हाउसबाट भर्चुअल माध्यमले हरियो झन्डा देखाएसँगै रेल जयनगरबाट गुडेकाे हाे।
जयनगरमा प्राेजेक्टरका माध्यमले प्रत्यक्ष प्रसारणकाे व्यवस्था मिलाइएकाे थियाे। कुर्थाका लागि प्रस्थान गरेको रेललाई फुल आदिले सिँगारेर चिटिक्क पारिएकाे थियो।
जगनगरबाट कुर्था हिँडेको रेल घुमेर जनकपुरधाम स्टेसनमा आएपछि यहाँ औपचारिक उद्घाटन कार्यक्रम हुनेछ ।
साे कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादव र मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलगायतले सम्बोधन गर्ने जनाइएकाे छ।
रेल खरिदको झन्डै दुई वर्षपछि रेलसेवाकाे औपचारिक उद्घाटन गरिएकाे हाे। जयनगरमा राखिएकाे प्रोजक्टरमार्फत दिल्लीमा हुने उद्घाटन कार्यक्रमकाे प्रत्यक्ष प्रसारणको गरिएको थियो।
रेल लिंककाे उद्घाटनसँगै नेपालकाे एक मात्र रेलवे सेवाले पुर्नजीवन पाएकाे छ। जयनगर-जनकपुर-कुर्था रेलवे सेवा यात्रुसहित शुभारम्भ भएकाे हाे।










