प्रधानमन्त्री देउवा भारतका प्रधानमन्त्री मोदीसँग भेटवार्ता गर्दै
नयाँ दिल्ली, चैत १९ : भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच हैदरावाद हाउसमा आज भेटवार्ता हुने भएको छ।भारतीय...
नयाँ दिल्ली, चैत १९ : भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच हैदरावाद हाउसमा आज भेटवार्ता हुने भएको छ।
भारतीय प्रधानमन्त्री मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री देउवा तीनदिने औपचारिक भ्रमणको सिलसिलामा शुक्रबार नयाँ दिल्ली पुगेका हुन्। भारतीय समकक्षी मोदीसँग प्रधानमन्त्री देउवाको बेग्लै र प्रतिनिधिमण्डलस्तरीय हैदराबाद हाउसमा छुट्टै वार्ता हुनेछ।
द्विपक्षीय औपचारिक वार्तापछि प्रधानमन्त्री देउवा र मोदीले जनकपुर–जयनगर रेल सुरुआत गर्ने कार्यक्रम छ। त्यस्तै नेपालमा भूकम्पपछि भारतीय सहयोगबाट निर्माण भएका १३० भन्दाबढी स्वास्थ्यचौकीको संयुक्त उद्घाटन गर्ने कार्यक्रम छ।
नेपालमा उत्पादित र नेपाललाई आवश्यकताभन्दा बढी भएको विद्युत् खरिदका विषयमा सम्झौताका लागि द्विपक्षीय छलफल हुनेछ। द्विपक्षीय सम्झौताको आदानप्रदान र प्रधानमन्त्रीले संयुक्तरूपमा प्रेस वक्तव्य जारी गर्ने कार्यक्रम पनि तय भएको छ।
त्यसपछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ। साथै भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री देउवासहितको प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको आयोजना गर्नुहुने कार्यक्रम रहेको छ।
प्रधानमन्त्री देउवाले आजै दिउँसो ४ः३० बजे भारतका उपराष्ट्रपति वेन्कैया नायडूसँग भेटवार्ता गर्नेछन्। आजै साँझ भारतीय व्यापारिक समुदायसँग अन्तरक्रिया गर्ने भएका छन्। (रासस)










