प्रधानमन्त्री देउवा भारत प्रस्थान
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा प्रधानमन्त्री देउवा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै आज (शुक्रबार) भारत भ्रमणमा गएका हुन्।
काठमाडाैं, चैत १८ : प्रधानमन्त्री शेरबहादुर देउवा भारतको तीनदिने औपचारिक भ्रमणका निम्ति नयाँ दिल्ली प्रस्थान गरेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा ५० सदस्यीय नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै उनी आज (शुक्रबार) अपराह्न भारत भ्रमणमा गएका हुन्।
उनी नेपाल एयरलायन्सको विमानमार्फत भारत प्रस्थान गरेका हुन्। उनका साथमा पत्नी आरजु राणा, परराष्ट्रमन्त्री नारायण खड्का, ऊर्जा तथा जलस्रोतमन्त्री पम्फा भुसाल, स्वास्थ्यमन्त्री विरोध खतिवडा र कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्रराय यादव छन्। त्यस्तै विभिन्न मन्त्रालयका सचिवहरु पनि प्रधानमन्त्रीको भ्रमण टोलीमा छन्।
मुख्यसचिव शङ्करदास बैरागी, प्रधानमन्त्रीका प्रमुख स्वकीयसचिव भानबहादुर देउवा, परराष्ट्र सचिव भरतराज पौड्याल, ऊर्जा सचिव देवेन्द्र कार्की, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठ, गृह सचिव टेकनारायण पाण्डे, कानून सचिव उदयराज सापकोटा, अर्थसचिव मधुकुमार मरासिनी, वाणिज्य सचिव गणेशप्रसाद पाण्डे, स्वास्थ्य सचिव डा रोशन पोखरेल, कृषि सचिव गोविन्दप्रसाद शर्मालगायत भ्रमण टोलीमा सहभागी छन्।
त्यस्तै प्रधानमन्त्रीका निजी सचिव प्रकाश देउवा, लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट, नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ, नेपाल आयल निगमका प्रबन्ध निर्देशक उमेशप्रसाद थानी, निजी क्षेत्रका उद्यमी-व्यवसायी सङ्घसङ्गठनका अध्यक्षसहित उच्च पदाधिकारी, स्वतन्त्र ऊर्जा उत्पादक सङ्घका पदाधिकारी तथा सञ्चारकर्मी पनि प्रतिनिधिमण्डलामा सहभागी छन्।
प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा भारतका लागि नेपालका राजदूत डा शंकर शर्मा, नयाँदिल्लीस्थित नेपाली राजदूतावासका उपप्रमुख रामप्रसाद सुवेदीलगायत दूतावासका उच्चअधिकारी नयाँ दिल्लीबाट सहभागी हुनेछन्।
प्रधानमन्त्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सभामुख अग्निप्रसाद सापकोटा, गृहमन्त्री बालकृष्ण खाँण, मन्त्रीगण, संवैधानिक अंगका प्रमुख तथा पदाधिकारी, यहाँस्थित भारतीय राजदूतावासका कार्यवाहक राजदूत, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिलगायतले बिदाई गरे। त्यसअघि सरकार प्रमुख औपचारिक विदेश भ्रमणमा निस्कँदा सलामी अर्पण गर्ने परम्पराअनुरुप नेपाली सेनाको एक टोलीले प्रधानमन्त्री देउवालाई सलामी दिएको थियो ।

प्रधानमन्त्री देउवा भारतीय समयअनुसार दिउँसो २ः५० बजे नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन्। त्यसपछि उनी चाणक्यपुरीस्थित आइटिसी मौर्य होटलमा बस्नेछन्।
आज अपराह्न साढे ४ बजे भारतीय विदेशमन्त्री एस जयशंकर र सुरक्षा सल्लाहकार अजित डोभालले प्रधानमन्त्री देउवालाई भेट गर्नेछन्। ५ बजे सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) केन्द्रीय कार्यालयमा पुग्ने कार्यक्रम छ। त्यसलगत्तै उनले नयाँदिल्लीस्थित नेपाली दूतावासले आयोजना गरेको रात्रिभोजमा सहभागिता जनाउनेछन्।
भोलि (शनिबार) समकक्षी नरेन्द्र मोदीसँगको बिहान सवा ११ बजेकाे भेटवार्तापछि प्रधानमन्त्री देउवा आइतबार बनारस पुग्नेछन्। उनी सोही दिन स्वदेश फर्किने कार्यक्रम छ।











