तीन दिने भ्रमणका लागि प्रधानमन्त्री आज भारत जाँदै
कांग्रेस सभापति समेत रहेका देउवा नेतृत्वको प्रतिनिधिमण्डल नेपाल वायुसेवा निगमको नियमित उडानबाट दिउँसो १ः२५ बजे नयाँदिल्ली प्रस्थान गर्नेछ भने सोही एयरलाइन्सबाट यही चैत २० गते साँझ ६ः१० स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।
काठमाडौं, चैत १८ : प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने भारतको औपचारिक भ्रमणका सिलसिलामा आज त्यसतर्फ प्रस्थान गर्दैछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा देउवा भारत जान लागेका हुन् ।
कांग्रेस सभापति समेत रहेका देउवा नेतृत्वको प्रतिनिधिमण्डल नेपाल वायुसेवा निगमको नियमित उडानबाट दिउँसो १ः२५ बजे नयाँदिल्ली प्रस्थान गर्नेछ भने सोही एयरलाइन्सबाट यही चैत २० गते साँझ ६ः१० स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।
भ्रमणको पहिलो दिन प्रधानमन्त्री देउवाले शुक्रबार साँझ नेपाली राजदूतावासमा नेपाली समुदायलाई सम्बोधन गर्ने कार्यक्रम छ। भ्रमणको दोस्रो दिन शनिबार प्रधानमन्त्री देउवालाई भारतीय सेनाले गार्ड अफ अनर दिने छ। त्यसपछि भारतीय प्रधानमन्त्री मोदीले देउवाको स्वागत गर्ने कार्यक्रम रहेको भारतीय विदेशमन्त्रालयले जनाएको छ। प्रधानमन्त्री देउवा शनिबारै राज घाटस्थित महात्मा गान्धीको समाधि स्थल पुगेर श्रद्धाञ्जली अर्पण गर्नेछन्।
त्यसैदिन प्रधानमन्त्री देउवासँग भारतीय विदेशमन्त्री डा एस जयशंकर, रक्षामन्त्री राजनाथ सिंह, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल लगायतले भेटवार्ता गर्ने कार्यतालिका छ। शनिबार नै भारतीय प्रधानमन्त्री मोदी र देउवाबीच हैदराबाद हाउसमा औपचारिक वार्ता हुनेछ। वार्ताअघि दुबै मुलुकका प्रतिनिधिमण्डल स्तरीय छलफल हुने छ। छलफलपछि दुई देशबीच सहमतिपत्रमा हस्ताक्षर हुनेछ।
जनकपुर–जयनगर रेलको भर्चुअल उद्घाटन हुनेछ। त्यसपछि देउवा र मोदीले संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम छ। शनिबार नै नेपालबाट गएको नीजि क्षेत्रका उद्योगी व्यवसायी र भारतीय व्यवसायी बिच नेपालमा लगानी र अवसरको बिषयमा प्रधानमन्त्रीले छलफल गर्नेछन्। छलफलपछि देउवा देउवा आइतबार बिहान उत्तरप्रदेशको वाराणसी पुग्ने कार्यक्रम छ ।
त्यहाँ देउवालाई उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गर्नेछन्। प्रधानमन्त्री देउवा आइतबार बिहान काशी विश्वनाथ मन्दिरमा पूजाआजा गरेर दिल्ली फर्किने र दिल्लीबाट काठमाडौं आउने कार्यक्रम छ।
भ्रमण टोलीमा देउवा पत्नी आरजु राणा देउवासहित परराष्ट्रमन्त्री नारायण खड्कालगायत मन्त्रीहरु, सचिवहरु तथा पदाधिकारीहरु रहेका छन्। भ्रमण टोलीमा सरकारी उच्च अधिकारी, उद्योगी व्यवसायी, सञ्चारकर्मी गरी करिब ५० जना सहभागी हुनेछन्।











