हिमालयन हाइड्रो एक्स्पो–२०२२ को सम्पूर्ण तयारी पूरा
काठमाडौं, चैत १७ : चैत १९ देखि २१ गतेसम्म हुने हिमालयन हाइड्रो एक्स्पो–२०२२ को तयारी सम्पन्न भएको छ । स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था नेपाल (इपान)...
काठमाडौं, चैत १७ : चैत १९ देखि २१ गतेसम्म हुने हिमालयन हाइड्रो एक्स्पो–२०२२ को तयारी सम्पन्न भएको छ ।
स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) ले बिहीबार एक पत्रकार सम्मेलन आयोजना गर्दै आगामी शनिबार दिउँसो १२ः१५ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले औपचारिक रूपमा उक्त एक्स्पोको उद्घाटन गर्ने जानकारी दिएको हो ।
हिमालयन हाइड्रो एक्स्पोको यो तेस्रो संस्करण हो । एक्स्पोको पहिला दिन (शनिबार) बिहान ७ बजे विद्युतीय सवारी साधनको ¥याली आयोजना गरिएको छ । विद्युतीय सवारी साधनको प्रयोगलाई अभियानका रूपमा अघि बढाउने उद्देश्यले उक्त ¥यालीको आयोजना गरिएको इपानका अध्यक्ष कृष्ण प्रसाद आचार्यले जानकारी दिए । उक्त ¥याली काठमाडौं, भृकुटीमण्डपबाट सुरु भइ नेपालको पहिलो जलविद्युत आयोजना फर्पिङसम्म पुगेर पुनः भृकुटीमण्डपमा नै फर्कने छ ।
‘क्रियटिङ मार्केट्स फर नेपाल्स हाइड्रोपावर’ नारा सहित आयोजना गरिएको यस एक्स्पोको मुल उद्देश्य नेपालमा उत्पादिन विजुलीको खपतमा बृद्धि गर्नु, विदेशमा निर्यात गर्न बजारीकारणको ठूलो ज्ञान र सूचना प्रदान गर्नु हो । एक्स्पो अवधिभर प्रत्येक दिन हाइड्रोपावर सम्बन्धि विषयगत ६ वटाभन्दा बढी टेक्निकल सेसन समेत सञ्चालन गरिने अध्यक्ष आचार्यले जानकारी दिए ।
यस एक्सपोमा चीन, भारत, क्यानडा, नर्वे, दक्षिण कोरिया, जर्मनी लगायतका देशबाट पनि सहभागीता जनाएको पाइएको छ । हाइड्रो पावर निर्माता, हाइड्रो पावर सामान उत्पादक, डिजाइनर, सप्लायर, लगानीकर्ता लगायतको सहभागिता रहेको छ । अहिलेसम्म एक सयभन्दा बढी स्टल बुक भइसकेको एपानले जनाएको छ ।
यस्तै हाइड्रो पावर क्षेत्रमा ड्रोनको आवश्यकतालाई मध्येनजर गर्दै ‘ड्रोन भिडियो मेकिङ कम्पिटिसन’को समेत आयोजना गरिएको इपानले जनाएको छ । उक्त एक्स्पो ५० हजारभन्दा बढीले अवलोकन गर्ने इपानको अपेक्षा छ ।











