Kathmandu Press

टाइफाइड खोप अभियान घोषणा

टाइफाइड खोप अभियान घोषणा

काठमाडाैं, चैत १७ : सरकारले यही चैत २५ देखि आगामी वैशाख १८ गतेसम्म देशैभर टाइफाइड खोप अभियान तथा राष्ट्रिय खोप कार्यक्रममा नियमित खोपमार्फत टाइफाइड खोप पनि समावेश गर्ने घोषणा गरेको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज यहाँ आयोजना गरेको एक कार्यक्रमम सो अभियानको घोषणा गरिएको जनाएको हो। राष्ट्रिय खोप कार्यक्रमलाई सरकारको पहिलो प्राथमिकता एवं जनस्वास्थ्यको सफल कार्यक्रमको रुपमा लिइएको छ।

हाल यो कार्यक्रममार्फत १२ वटा एन्टिजेनसमेत समावेश गरी नियमित खोप कार्यक्रमको प्रभावकारी कार्यान्वयनबाट बालबालिकाको बिरामी दर, अपांगता र शिशु तथा बाल मृत्युदरसमेतमा उल्लेख्य कमी आउन सकेको सो अवसरमा जानकारी दिइयो । 

नेपालमा अझैपनि टाइफाइड रोगको उच्च सङ्क्रमण र जोखिमी रहनाका साथै अस्पताल भर्ना हुने कारणमध्ये प्रमुख पाँचभित्र रहेको देखिएको छ। यो खोप सुरुमा १५ महिनादेखि १५ वर्ष उमेर समूहमा देशैभर अभियानमार्फत सञ्चालन गरी त्यसपछि नियमित खोपमार्फत १५ महिनाका बालबालिकालाई निरन्तर उपलब्ध गराइने जनाइएको छ। 

कार्यक्रममा मन्त्रालयका सचिव रोशन पोखरेलले यस अभियानको व्यवस्थित र प्रभावकारी सञ्चालनमा सहजीकरणका लागि सबै पक्षसँग आग्रह गरे। परिवारकल्याण महाशाखाका निर्देशक डा विवेहकुमारलाल, विश्व स्वास्थ्य सङ्गठनका विनोद बुरालगायतले पनि टाइफाइड खोपको आवश्यकता र अभियानका बारेमा आ–आफ्ना धारणा व्यक्त गरेका थिए। 

प्रकाशित मिति: १५:५५ बजे, बिहीबार, चैत १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्