नेपालमा शक्तिराष्ट्रहरूको चासो बढ्दै गएकाले राष्ट्रिय मुद्दामा समझदारी आवश्यक : भट्टराई
काठमाडाैं, चैत १७ : जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाल विश्वका शक्तिशाली देशहरूको चासो बढ्दै गइरहेकाले बदलिँदो परिस्थितिलाई...
काठमाडाैं, चैत १७ : जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाल विश्वका शक्तिशाली देशहरूको चासो बढ्दै गइरहेकाले बदलिँदो परिस्थितिलाई समयमै आकलन गरेर राष्ट्रिय मुद्दामा राष्ट्रिय समझदारी बनाउनुपर्नेमा जोड दिएका छन्।
रिपोर्टर्स क्लबको २४औं वार्षिकोत्सवका अवसरमा आज (बिहीबार) काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले विश्व राजनीतिसँगै परिवर्तित भूराजनीतिका कारण अमेरिका, चीन र भारतबीचका सम्बन्धहरूले समेत नेपालको आन्तरिक सम्बन्धलाई प्रभावित बनाइरहेको बताए। नेपालमा नयाँ शीतयुद्धको प्रतिछाया मडारिरहेको उनले दाबी गरे।
‘राष्ट्रिय राज्यहरू रहुन्जेल राष्ट्रियताको प्रश्न अहं रहन्छ र पछिल्लो समयमा जसरी नेपालको छरछिमेकको भूराजनीति बदलिँदो छ, विश्व राजनीतिसँगै भूराजनीति बदलिँदो छ। एउटा नयाँ शीतयुद्धको छायाँ प्रतिछाया मडारिँदैछ। खासगरी भारत, चीन, अमेरिकाका बीचका सम्बन्धहरूले हाम्रो आन्तरिक सम्बन्धलाई समेत प्रभावित पार्ने जुन परिस्थिति बन्दै गएको छ,’ उनले भने. 'यसलाई हामीले बेलैमा आकलन गरेर राष्ट्रिय समझदारी बनाउनैपर्छ। ठूला देशहरूको बीचमा रहेको देशले राष्ट्रिय मुद्दामा सहमति कायम गर्नैपर्छ।’
युक्रेनको घटनाबाट पाठ सिकेर सबै देशसँग सन्तुलित सम्बन्ध कायम गर्नुपर्ने सुझाव दिए। त्यसो नगर्ने हो भने देश दुर्घटनामा जान सक्ने जिकिर उनले गरे।
युक्रेनको घटना हामीलाई ठुलो पाठ हुन सक्छ। हामी विश्व शक्ति देशहरूका बीचमा छौं। सबैको चासो बढ्दैछ । हामीले बेलैमा राम्रो सन्तुलित सम्बन्ध मिलाएर जान सकेनौं भने हामी नराम्रो दुर्घटनामा पर्न सक्छौं तर हामीले बुद्धि पुर्याउँदा शताकौंपछि हाम्रो देश अग्रणी केन्द्र, आर्थिक हिसाबले, राजनीतिक हिसाबले, सांस्कृतिक हिसाबले बन्न सक्छ। त्यो पूरै सम्भावना छ, त्यसको निम्ति हामीले राष्ट्रिय समझदारी बनाउनैपर्छ।’











