सहमतिको सम्बन्धलाई बलात्कार भन्दै उजुरी दिने किशोरीलाई साढे ३ वर्ष कैद सजाय
काठमाडौं, चैत १६ : सहमतिमा यौन सम्बन्ध राखेर बलात्कार गरेको भन्दै उजुरी दिने किशोरीलाई अदालतले जेल सजाय सुनाएको छ । जिल्ला अदालत अछामले आफूमाथि...
काठमाडौं, चैत १६ : सहमतिमा यौन सम्बन्ध राखेर बलात्कार गरेको भन्दै उजुरी दिने किशोरीलाई अदालतले जेल सजाय सुनाएको छ ।
जिल्ला अदालत अछामले आफूमाथि जबरजस्ती करणी भएको भनी मुद्दा हाल्ने एक किशोरीलाई तीन वर्ष ६ महिना कैदको फैसला सुनाएको हो । न्यायाधीश नवीनकुमार जोशीको इजलासले सहमतिमा यौन सम्बन्ध राखेर बलात्कार गरेको भन्दै उजुरी दिएकी ती १९ वर्षीया किशोरीलाई जेल सजाय तोकेको हो।
२०७८ माघ १५ गते आफूसँग विवाह गर्न भनेर घरमा माग्न आएका युवकले आफूमाथि जबरजस्ती करणी गरेको भन्दै युवतीले प्रहरीमा उजुरी दिएकी थिइन्। तर, मुद्दाको पुर्पक्षका क्रममा सहमतिमा नै यौनसम्बन्ध राखेको पुष्टि भएको ठहर गर्दै अदालतले यस्तो निर्णय सुनाएको हो ।
सहमतिमा यौनसम्पर्क भएको, जबर्जस्ती करणी नभएको ठहर गर्दै अदालतले बलात्कारको आरोपमा पक्राउ परेका रामारोशन गाउँपालिकाका २० वर्षीय पुरूषलाई सफाइ दिएको छ।
‘प्रतिवादीका साक्षी तथा वादीका साक्षीहरुको बकपत्र समेतबाट प्रतिवादीलाई घटना हुँदाको दिन पीडितले नै बोलाएर कोठामा लगेको तथ्य पुष्टि भएबाट यी प्रतिवादीले पीडितलाई जबरजस्ती करणी गरेको तथ्य स्थापित हुन सकेन, साथै पीडितले रिसले जाहेरी दिएको भनेर अदालतमा बकपत्र गर्दा लेखाएबाट निजले प्रतिवादीलाई झुटो बेहोराले जाहेरी लगायतको कागज गरी झुटा मुद्दामा फसाउन खोजेको तथ्य स्थापित भएको देखिन्छ,’अदालतले फैसलामा भनेको छ।











