भुजुङ पर्यटन महोत्सवले तान्यो पर्यटक
लम्जुङ, असोज १६ : ‘भुजुङ पर्यटन महोत्सवमा सहभागी बनौँ, नेपाल भ्रमण वर्ष २०२० सफल पारौँ’ भन्ने मूल नाराका साथ भुजुङ पर्यटन महोत्सव बुधबार स....
लम्जुङ, असोज १६ : ‘भुजुङ पर्यटन महोत्सवमा सहभागी बनौँ, नेपाल भ्रमण वर्ष २०२० सफल पारौँ’ भन्ने मूल नाराका साथ भुजुङ पर्यटन महोत्सव बुधबार सम्पन्न भएको छ ।
क्व्होलासोथर गाउँपालिका–४ भुजुङमा सञ्चालित सो तीनदिने महोत्सवमा सांस्कृतिक झाँकी, स्थानीय हस्तकला सामग्री र स्थानीयस्तरमा उत्पादित कृषिजन्य वस्तु प्रदर्शनी, स्थानीय खानाका परिकारको चमेनागृह सञ्चालन, राष्ट्रिय तथा स्थानीय कलाकारहरुद्वारा लोकदोहोरी गीत प्रस्तुतलगायत मुख्य आकर्षणको रुपमा रहेको थियो ।
नेपाल भ्रमण वर्ष २०२० लाई टेवा पु¥याउँदै गाउँमा धेरैभन्दा धेरै सङ्ख्यामा पर्यटन ल्याउनका लागि महोत्सवको आयोजना गरिएको महोत्सव मूल समारोह समितिका अध्यक्ष तुलबहादुर गुरुङले बताए ।
उने भने, “राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा यो पर्यटकीय गाउँको प्रचारप्रसार गर्न तथा नेपाल सरकारले अघि सारेको भ्रमण वर्षलाई सहयोग पु¥याउनका लागि पहिलोपटक महोत्सव गरिएको छ ।”
भुजुङ गाउँमा विसं २०६४ बाट घरवास (होमस्टे) समेत सञ्चालनमा आएको छ । अहिले २२ घरवास सञ्चालनमा रहेका छन् । आगामी पाँच वर्षभित्र ५० वटा घरवास सञ्चालन गर्ने लक्ष्य लिएको भुजुङ ग्रामीण व्यवस्थापन समितिले जनाएको छ ।
यस गाउँमा ९० प्रतिशत गुरुङ र बाँकी दलितहरुको बसोवास छ । ५०० घरधुरी रहेको यस गाउँमा करीब तीन हजार जनसङ्ख्या रहेको छ । भुजुङ गाउँको पश्चिमतर्फ पसगाउँ र सिङदीगाउँ, दक्षिणमा तामुगाउँ र पूर्वमा दक्षिण एशियाकै नमूना घलेगाउँ, घनपोखरागाउँ रहेको छ । त्यस्तै उत्तरतर्फ मिदिमखोलाको शिर, घना वनजङ्गल र लमजुङ हिमाल रहेको छ ।
भौगौलिक, प्राकृतिक र सांस्कृतिक सम्पदाले भरिपूर्ण यो गाउँ बेँसीशहरदेखि करीब ३२ किलोमिटर टाढा रहेको छ । बेँसीशहरबाट ग्रामीण कच्ची सडक पार गर्दै सवारी साधनले साँढे तीन घण्टामा त्यहाँ पुग्न सकिन्छ ।