निर्वाचनमा सहभागि दललाई आयोगको १७ बुँदे निर्देशन
आयोगले स्थानीय तहको प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्षको पदमध्ये कुनै एक पदमा मात्र उमेदवारी दिने राजनीतिक दलले महिलाको मनोनयनको व्यवस्था गर्न निर्देशन दिएको छ ।
काठमाडौं, चैत १६ : आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा सहभागि दलहरूलाई निर्वाचन आयोगले १७ बुँदे निर्देशन जारी गरेको छ । आयोगले महिला तथा समावेशी समूहका व्यक्तिहरुलाई निर्वाचन प्रक्रियामा धेरै सहभागिता र प्रतिनिधित्व गराउने सम्बन्धमा यस्तो निर्देशन जारी गरेको हो ।
आयोगले स्थानीय तहको प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्षको पदमध्ये कुनै एक पदमा मात्र उमेदवारी दिने राजनीतिक दलले महिलाको मनोनयनको व्यवस्था गर्न निर्देशन दिएको छ । यसैगरी राजनीतिक दलले निर्वाचनसँग सम्बन्धित कृयाकलापहरू सञ्चालन गर्दा नेपालको संविधानप्रति निष्ठावान रही विभिन्न जातजाति, सम्प्रदाय, लिङ्ग, धर्म, भाषा, क्षेत्र र संस्कृतिको सम्मान गर्दै आपसी सुसम्बन्धमा खलल पार्ने कुनै गतिविधि हुन नदिन पनि भनेको छ ।
यस्तै निर्वाचनमा प्रयोग हुने मतदानस्थल, मतदान केन्द्र, मतगणनास्थललाई लैङ्गिक तथा अपाङ्गमैत्री बनाउन आवश्यक सहयोग गर्न, घोषणापत्र लगायतका दस्तावेजहरूमा लैङ्गिक तथा समावेशी सम्बन्धी व्यवस्थालाई उचित सम्बोधन गर्न, प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्षको पदमध्ये कुनै एक पदमा मात्र उम्मेदवारी दिने राजनीतिक दलले महिलाको मनोनयनको व्यवस्था गर्न पनि निर्देशन दिएको छ ।
“नेपालको संविधान, राजनीतिक दलसम्बन्धी ऐन, २०७३, स्थानीय तह निर्वाचन ऐन, २०७३, निर्वाचन आयोगको तेस्रो पञ्चवर्षीय रणनीतिक योजना (२०७६/७७–२०८०/८१) र निर्वाचन व्यवस्थापनमा लैङ्गिक तथा समावेशी नीति, २०७७ मा भएका व्यवस्था बमोजिम स्थानीय तह निर्वाचन, २०७९ को व्यवस्थापन र सञ्चालनलाई लैङ्गिक तथा समावेशी बनाई महिला तथा समावेशी समूहका व्यक्तिहरूलाई निर्वाचन प्रक्रियामा बढीभन्दा बढी सहभागिता र प्रतिनिधित्व गराउने सम्बन्धमा आ–आफ्नो तर्फबाट तपशिल बमोजिम गर्न गराउन राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम स्थानीय तह निर्वाचन, २०७९ मा भाग लिन दर्ता भएका राजनीतिक दलहरूलाई निर्देशन दिइएको छ,” विज्ञप्तिमा भनिएको छ ।














