स्थानीय तह निर्वाचन : उम्मेदवारले मनाेनयनपत्रका साथमा १९ बुँदे स्वघोषणा गर्नैपर्ने
निर्वाचन आयोगले जारी गरेको स्थानीय तह निर्वाचन निर्देशिका, २०७९ मा उम्मेदवारले १९ बुँदे स्वघोषणा गर्नैपर्ने र त्यसमा समेटिनुपर्ने विषय केके भनी स्पष्ट पारिएको छ।काठमाडाैं, चैत १६ : स्थानीय तह निर्वाचनमा उम्मेदवारले मनोनयन दर्ता गराउँदा मनोनयनपत्रका साथमा अनिवार्य रूपमा १९ बुँदे स्वघोषणा गर्नुपर्ने भएको छ।
निर्वाचन आयोगको आज (बुधबार) बसेको बैठकले त्यस्तो व्यवस्था गरेको हो। बैठकले जारी गरेको स्थानीय तह निर्वाचन निर्देशिका, २०७९ मा उम्मेदवारले १९ बुँदे स्वघोषणा गर्नैपर्ने र त्यसमा समेटिनुपर्ने विषय केके भनी स्पष्ट पारिएको छ।
आफूले गरेको स्वघोषणाप्रति उम्मेदवार स्वयं जिम्मेवार हुनुपर्ने पनि निर्देशिकामा उल्लेख छ।
आयोगले नेपालको संविधान तथा निर्वाचनसम्बन्धी प्रचलित कानुनी व्यवस्था समेतका आधारमा स्थानीय तह निर्वाचनमा उम्मेदवार हुने प्रचलित कानुनबमोजिम योग्यता पुगेको कुनै पनि व्यक्तिले मनोनयन दर्ता गर्दा स्वघोषणा गर्नुपर्ने व्यवस्था गरेको हो।
यस्ता छन् उम्मेदवारी दिनुअघि गर्नुपर्ने स्वघोषणाका १९ बुँदा
१. नेपालको संविधानप्रति पूर्ण निष्ठावान रहेको।
२. २१ वर्ष उमेर पुरा भएको नेपाली नागरिक भएको।
३. गाउँपालिका वा नगरपालिकाको सम्बन्धित वडाको मतदाता नामावलीमा नाम समावेश भएको।
४. स्थानीय तह निर्वाचनसम्बन्धी कुनै कानुनले अयाग्य नभएको।
५. नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तह तथा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपवाल सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक वा सुविधा पपाउने गरी वहाल नरहेको।
६. सरकारी कोषबाट पारिश्रमिक वा आर्थिक सुविधा पाउने गरी कुनै लाभको पद धारण नगरेको।
७. स्थानीय तह निर्वाचन इेन २०७३ को दफा १३ को खण्ड (ङ), (च), (छ), (ज), (झ), (ञ) र (ट) बमोजिमको अयोग्यता नभएको।
८. स्थानीय तह निर्वाचन ऐन, २०७३, स्थानीय तह निर्वाचन नियमावली, २०७४ तथा स्थानीय तह निर्वाचन निर्देहिका २०७८ बमोजिम मनोनयनपत्र साथ उम्मेदवारले पेश गर्नुपर्ने सबै कागजात पेश गरेको ।
९. प्रतिनिधि सभा सदस्य वा प्रदेश सभा सदस्यको समानुपातिक निर्वाचन प्रणाली तर्फको उम्मेदवारको बन्दसूचीमा नाम कायम नरहेको।
१०. मनोनयनपत्र साथ पेश गरेको सम्पत्ति विवरण ठीक साँचो रहेको।
११. स्थानीय तहलाई कुनै जिन्सी वा नगदी बुझाउन बाँकी नरहेको।
१२. कुनै स्थानीय तहको ठेक्कापट्टा वा चल अचल सम्पत्ति सम्बन्धी व्यवहारमा संलग्न नरहेको।
१३. सरकारी पेश्की, बेरुजु तिर्न बुझाउन बाँकी नरहेको।
१४. संविधानको धारा २९१ बमोजिम विदेशको स्थायी आवासीय अनुमति पत्र (डिभी, पीआर) नलिएको।
१५. न्यायिक वा अर्धन्यायिक निकायबाट लागेको कैद सजाय, जरिबाना तिर्न बुझाउन बाँकी नरहेको।
१६. निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता पूर्णरुपमा पालना गर्ने प्रतिबद्ध रहेको।
१७. निर्वाचन आयोगले तोकिदिएको निर्वाचन खर्चको सीमाभित्र रही खर्च गर्न र खर्च सम्बन्धी आचरण
पालना गर्न प्रतिबद्ध रहेको।
१८. २१ वर्ष उमेर पूरा भएकोले स्थानीय निर्वाचनमा उम्मेदवार हुन योग्य नेपाली नागरिक भएको।
१९. नेपालको संविधान, कानून र निर्वाचन ऐन नियम भित्र रही निर्वाचनमा भाग लिन प्रतिवद्ध रहेको।
यस्तो स्वघोषणापत्रमा उम्मेदवारले सम्पूर्ण विवरण ठीक साँचो रहेको र झुठा ठहरे कानुनबमोजिम सहन बुझाउन प्रतिबद्ध रहेको घोषणा गर्नुपर्ने जनाइएको छ।











