आसिफको अर्धशतकमा मलेसियामाथि नेपालको सहज जित
बुधबार टियु मैदानमा मलेसियाले दिएको ११५ रनको सामान्य लक्ष्य नेपालले १३.४ ओभरमा ४ विकेट गुमाउँदै भेट्टायो।
काठमाडाैं, चैत १६ : त्रिकोणात्मक टी–२० सिरिजको दोस्रो खेलमा नेपालले मलेसियाविरुद्ध ६ विकेटको सहज जित निकालेको छ।
बुधबार टियु मैदानमा मलेसियाले दिएको ११५ रनको सामान्य लक्ष्य नेपालले १३.४ ओभरमा ४ विकेट गुमाउँदै भेट्टायो।
नेपालको सहज जितमा ओपनर आसिफ सेखले अर्धशतकीय योगदान दिए । उनले ३८ बलमा ७ चौका र १ छक्का प्रहार गर्दै ५७ रन बनाए। यस्तै, दीपेन्द्रसिंह ऐरीले १७ बलमा २१ रन बनाउँदा टी-२० अन्तर्राष्ट्रियमा डेब्यु गरिरहेका दिलिप नाथले ७ बलमा ३ चौका प्रहार गर्दै १५ रन बनाए।
मलेसियाका पवनदीप सिंहले २ तथा मुहम्मद अमीर र सेयद अजिजले समान १ विकेट लिए।
यसअघि टियु मैदानमा जारी खेलमा टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाले निर्धारित ओभरमा ८ विकेटको क्षतिमा ११४ रन मात्र बनाउन सक्यो। उसका लागि जुबाइदी जुल्कीफ्लेले १५ बलमा सार्वधिक ३२ रन बनाउँदा कप्तान अहमद फइजले २४ र मुहम्मद अमीरले १६ रन बनाए।
मलेसियालाई सस्तैमा समेट्ने क्रममा नेपालकाकप्तान सन्दीप लामिछाने र करण केसीले समान २ विकेट लिए। करणले ३ ओभरमा १६ रन खर्चिए भने सन्दीपले २७ रन खर्चिए। यस्तै, अविनाश बोहरा, कशुल मल्ल र दीपेन्द्रसिंह ऐरीले समान १ विकेट लिए।











