माओवादीकै नेतृत्वमा नेपाल लोडसेडिङ्गमुक्त भएको हो : प्रचण्ड
काठमाडौं, चैत १६ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्रकै नेतृत्वमा नेपाल लोडसेडिङ्गको कहालिलाग्दो अवस्थाबाट मुक्त भएको बताएका छन्। राप्ती नगरपालिकामा निर्माण...
काठमाडौं, चैत १६ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्रकै नेतृत्वमा नेपाल लोडसेडिङ्गको कहालिलाग्दो अवस्थाबाट मुक्त भएको बताएका छन्।
राप्ती नगरपालिकामा निर्माण भएको हर्दी विद्युत सबस्टेसनको उद्घाटन गर्दै उनले अब नेपाली जनताको जिविकोपार्जन नै बिजुली हुने बताए ।नेपालको अपार जलस्रोतको भण्डारलाई उर्जा उत्पादनको क्षेत्रमा क्रान्तिकारी छलाङ मारिरहेको र यसलाई सरकारले उर्जाखानीको रूपमा विकास गर्नुपर्ने बताए।
प्रचण्डले चितवनमा अबको ५० वर्षलाई धान्नेगरी ठूला–ठूला भौतिक पूर्वाधारका योजना बनाउन नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकलाई उनले आग्रह गरे । सो अवसरमा प्रचण्डले चितवन, मकवानपुर र नवलपुरलाई एकीकृत गरी विकास प्राधिकरण निर्माण गरेर यस क्षेत्रको बृहत्तर विकास गर्ने योजनाका साथ आफू अगाडि बढिरहेको बताए। विकासमा सबैको समान चिन्ता र चासो हुनुपर्ने उल्लेख गर्दै उनले सबैको सामूहिक प्रयासले मात्र उपलब्धि हासिल हुने बताए।
कार्यक्रममा ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुषालले २६ हजार न्यून विद्युत् खपत गर्ने उपभोक्तालाई सरकारले निःशुल्क बिजुली उपलब्ध गराएको जानकारी दिए। कृषि प्रयोजनका लागि खपत हुने विद्युतमा ५० प्रतिशत छुट दिने काम पनि आफैले गरेको भन्दै उनले विद्युत् महसुल कसरी घटाउन सकिन्छ भन्नेमा मन्त्रालयले प्रयत्न गरिरहेको बताए।
पेट्रोलियम पदार्थको खपत घटाएर विद्युतीय सामग्री तथा विद्युतीय सवारी साधनमा आकर्षण बढाउन सरकारले काम गरिरहेको मन्त्री भुषालको भनाइ छ। कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक तथा कार्यक्रमका अध्यक्ष घिसिङले नेपाल विद्युत् प्राधिकरणले ५० वर्षे कार्ययोजना बनाइ काम अगाडि बढाएको जनाउँदै पूर्वाधार निर्माणमा सबैले सहयोग गर्न आग्रह गरे।











