भरतपुरको मेयरमा माओवादी केन्द्रको दाबी रहन्छ : प्रचण्ड
चितवन, चैत १२ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुर महानगरपालिकाको मेयरमा आफ्नो पार्टीको दाबी रहने बताएका छन्। भरतपुर विमानस्थलमा आज (बुधबार) बिहान पत्रकारहरूसँग...
चितवन, चैत १२ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुर महानगरपालिकाको मेयरमा आफ्नो पार्टीको दाबी रहने बताएका छन्।
भरतपुर विमानस्थलमा आज (बुधबार) बिहान पत्रकारहरूसँग कुरा गर्दै उनले स्थानीय तहको निर्वाचनमा सत्तारुढ दलबीच गठबन्धन कायमै रहने र भरतपुरको मेयरमा आफ्नो पार्टीको दाबी रहने बताएका हुन्।
उनले कांग्रेसको केन्द्रीय समितिको बैठकले निर्णय गरेपछि गठबन्धनका बीचमा आवश्यकताअनुसार तालमेल हुने कुरामा प्रस्ट भएको बताए।
‘भोलि (बिहीबार) गठबन्धनको बैठक बस्दैछ,’ उनले भने, ‘सम्भवतः महानगरपालिकाबारे केही न केही निर्णयमा पुग्छौं । तालमेल गर्ने सन्दर्भमा भरतपुरको मेयरमा हाम्रो दाबी रहन्छ।’
यसअघिको निर्वाचनमा भरतपुरमा कांग्रेस र माओवादी केन्द्रबीच तालमेल भएको थियो। माओवादी केन्द्रबाट रेणु दाहाल मेयरमा र कांग्रेसबाट पार्वती शाह उपमेयरमा निर्वाचित भएका थिए।
सबै राजनीतिक दलहरु आआफ्नो तवरले निर्वाचनको तयारीमा लागेको जनाउँदै उनले निर्वाचन हुने कुरा सुनिश्चित भइसकेको बताए।
आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ।











