इटहरीमा घरभित्रै बम पड्कियाे, घटनास्थलमा हिमाल सुरक्षा परिषद्काे पर्चा भेटियाे
घाइते हुनेहरुमा नवजागृति टोलमा बस्दै आएका २२ वर्षीय रविन थापा र लमजुङका २३ वर्षीय शेरजंग गुरुङ रहेका छन्।
काठमाडौं, चैत १५ : सुनसरीको इटहरीमा बम बिस्फोट भएको छ। सोमबार राति करिब १० बजे इटहरी उपमहानगरपालिका–२ नवजागृती टोलको एक घरमा बम विस्फोट भएको हो।
विस्फोटमा परि दुई जना घाइते भएका छन्। घाइते हुनेहरुमा नवजागृति टोलमा बस्दै आएका २२ वर्षीय रविन थापा र लमजुङका २३ वर्षीय शेरजंग गुरुङ रहेका छन्। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार घाइते भएका थापाकै डेरामा बम विस्फोट भएको हो। कोठाभित्र झोलामा रहेको सुतली बम बिष्फोट भएको प्रहरीको अनुमान छ। घाइते थापाको आँखामा चोट छ।
विष्फोटमा परी घाइते भएका थापाको विराटनगर आँखा अस्पताल र गुरुङलाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएको छ ।
घटनास्थलबाट हिमाल सुरक्षा परिषद् नेपालको पर्चा बरामद भएको प्रहरीले बताएको छ । परिषद्ले हिन्दु राष्ट्रको माग गर्दै फागुन १५ गतेबाट सशस्त्र संघर्षको घोषणा गरेको थियो। विष्फोटमा घाइते भएकाहरू परिषद्को कार्यकर्ता भएको प्रहरीको आशंका छ ।
संघीयता खारेज, हिन्दु राष्ट्र घोषणा, नागरिकता छानबिन गर्नुपर्ने, भारत(चीन सीमा विवाद समाधान गरिनुपर्ने, एमसीसी सम्झौता खारेज गरिनुपर्नेलगायतका माग राख्दै परिषद् संघर्ष घोषणा गरेको थियो ।











