एमालेको पक्षमा जनलहर देखेर गठबन्धन आत्तिएको छ : उपाध्यक्ष पाैडेल

भैरहवा, चैत १४ : एमाले उपाध्यक्ष विष्णु पौडेलले देशभर एमालेको पक्षमा जनलहर देखेर पाँच दलीय गठबन्धन आत्तिएको बताएका छन्।
एमाले सिद्धार्थनगर नगर कमिटीले सोमबार भैरहवामा आयोजना गरेको पार्टी प्रवेश तथा प्रशिक्षण कार्यक्रममा बोल्दै पौडेलले पाँच दलीय गठबन्धनलाई बालुवाको लड्डुको संज्ञा दिँदै बालुवाको लड्डु नबनेजस्तै पाँच दलीय गठबन्धन पनि नबन्ने बताए।
पूर्वअर्थमन्त्रीसमेत रहेको पौडेलले पाँच दलीय गठबन्धनलाई चुनाव आयो भन्यो कि सातो जाने गरेको बताउँदै गठबन्धन सरकार निर्वाचन कुनै पनि हालतमा सार्ने मनिस्तिथिमा रहेको भए पनि एमालेले जनस्तरबाट नै सशक्त दबाब र खबरदारी गरेकाले निर्वाचन रोक्ने चाहना पूरा हुन नसकेको जिकिर गरे।
उनले सबैको चाहना,आशा,भरोसा र नेपाली जनताले पत्याएको पार्टी नै एमाले रहेको बताउदै देशभर नै एमालेले जित्ने दाबी गरे। कार्यक्रममा जसपा र अन्य विभिन्न पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका थिए ।











