कांग्रेसले चुनावी तालमेलबारे भोलिकाे बैठकमा निर्णय गर्ने
काठमाडाैं, चैत १४ : नेपाली कांग्रेसले आउँदो वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा भोलि (मंगलबार) निर्णय गर्ने...
काठमाडाैं, चैत १४ : नेपाली कांग्रेसले आउँदो वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा भोलि (मंगलबार) निर्णय गर्ने भएको छ।
पार्टी कार्यालय सानेपामा सोमबार बसेको केन्द्रीय समितिको तेस्रो दिनको बैठकपछि पार्टी प्रवक्ता प्रकाशशरण महतले चुनावी गठबन्धनबारे मंगलबार बैठक बसेर मात्र निर्णय हुने बताएका हुन्।
शुक्रबार सुरु भएको बैठक दोस्रो दिन आइतबार बसेको थियो। पहिलो बैठकदेखि नै केन्द्रीय सदस्यहरूले बोल्न थालेको र सो क्रम आज (सोमबार) बसेको तेस्रो दिनको बैठकमा मात्र सकिएको उनले जानकारी दिए।
‘भोलि ३ बजे फेरि बैठकमा बस्दैछ। सोही बैठकले सबै निर्णय गर्नेछ। केन्द्रीय सदस्यहरूले बोल्ने क्रम आज समाप्त भएको छ,’ उनले भने।
घरघर जाऔं नेपाली कांग्रेस जिताऔं अभियान गाउँगाउँ पुगेर आएका नेताहरूले पार्टीको अवस्थाबारे जानकारी गराएका थिए। विशिष्ट परिस्थितिमा गठबन्धनको सरकार बनेकाले केन्द्रीय समिति बैठकमा गठबन्धनलाई कायमै राख्ने कुरा आएको उनले बताए।
‘तालमेल गरेर जाँदा नै पार्टीले धेरै सिट जित्ने अधिकांश साथीहरूको मत रहेको छ,’ प्रवक्ता महतलेले भने, ‘एक्लै चुनाव लड्नुपर्ने मत पनि आएका छन्।’











