बेलायत, माल्दिभ्स, सिसेल्ससँग श्रम सम्झौताका लागि छलफल भइरहेकाे छ : मन्त्री श्रेष्ठ
काठमाडाैं, चैत १४ : श्रम मन्त्रालयले बेलायत, माल्दिभ्स, सिसेल्स श्रम सम्झौताको लागि तीव्ररुपमा छलफल अगाडि बढाइएको जनाएको छ। सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै श्रम, रोजगार...
काठमाडाैं, चैत १४ : श्रम मन्त्रालयले बेलायत, माल्दिभ्स, सिसेल्स श्रम सम्झौताको लागि तीव्ररुपमा छलफल अगाडि बढाइएको जनाएको छ।
सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले नयाँ गन्तव्य मुलुकका रुपमा बेलायत, माल्दिभ्स, सिसेल्स र इजरायल (निर्माण श्रमिकका लागि) सँग श्रम सम्झौताको लागि श्रम वार्ताहरु तीव्ररुपमा अगाडि बढाइएको जानकारी दिए।
अहिले १ सय ७८ मुलुकमा नेपालीहरु व्यक्तिगत श्रम स्वीकृति लिएर जान पाउँछन् भने १ सय १० मुलुकमा संस्थागत रुपमा श्रम स्वीकृति लिएर जान पाइने मन्त्रालयले जनाएको छ। त्यस्तै एकपटक वैदेशिक रोजगारमा गएर फर्किएकाहरुले फेरि विदेश जाँदा अभिमुखीकरण तालिमको कक्षा लिनु नपर्ने व्यवस्था गरिएको मन्त्री श्रेष्ठले बताए।
त्यस्तै मन्त्रालयले वैदेशिक रोजगार बोर्डले विदेशमा मृत्यु भएका श्रमिककका परिवार र अंगभंग भएकालाई दिइने क्षतिपूर्तिसमबन्धी सेवा पनि वैदेशिक रोजगारको मुख्य अनलाइन प्रणालीमा आबद्ध गरेको छ।
यसले पीडित श्रमिक र उनीहरूको परिवारलाई क्षतिपूर्ति र बीमा रकम पाउन सहज हुने मन्त्री श्रेष्ठले बताए। उनले आगामी जुनभित्र कतारसँग नयाँ श्रम समझदारीको हस्ताक्षर गर्ने सहमति भएको जानकारी दिए।
मन्त्री श्रेष्ठले ५ बर्षे रणनीतिक कार्ययोजना तयार गरी स्वीकृतिको चरणमा पुगेको बताए। मन्त्री श्रेष्ठले बैदेशिक रोजगारीमा जानेहरुको शुल्क निर्धारणका बिषयमा पनि छलफल भइरहेको जानकारी दिए।
कानुनी प्रावधानविपरीत रोजगारीको प्रलोभनमा नेपालीलाई विदेशमा लगि अलपत्र पार्ने व्यक्ति तथा कम्पनीलाई पीडितको उद्धार गर्न बाध्य पारिएको र उनीहरुलाई कारवाहीको दायरामा ल्याइएको मन्त्री श्रेष्ठले दावी गरे।
उनले नेपालको आप्रवास कुटनीतिलाई थप व्यवस्थित बनाउन विभिन्न श्रम गन्तव्य मुलुकमा अवैतनिक श्रम सद्भाव दूत नियुक्ति गर्न पहल गर्ने बताए। त्यस्तै अनौपचारिक श्रम क्षेत्रलाई औपचारिक बनाउँदै लैजाने पनि उनको भनाइ छ।











