कांग्रेस जनप्रतिनिधिले गरे न्यायिक समितिको राष्ट्रिय सम्मेलन बहिष्कार
पाेखरा, चैत १४ : आफूहरुसँग समन्वय नगरेको भन्दै पोखरा महानगरपालिकाद्वारा आज आयोजित न्यायिक समितिको राष्ट्रिय सम्मेलनलाई कांग्रेस जनप्रतिनिधिले बहिष्कार गरेका छन्।चुनावको बेला स्वार्थपूर्तिका लागि...
पाेखरा, चैत १४ : आफूहरुसँग समन्वय नगरेको भन्दै पोखरा महानगरपालिकाद्वारा आज आयोजित न्यायिक समितिको राष्ट्रिय सम्मेलनलाई कांग्रेस जनप्रतिनिधिले बहिष्कार गरेका छन्।
चुनावको बेला स्वार्थपूर्तिका लागि सम्मेलन गरिएको भन्दै पोखराका कांग्रेस जनप्रतिनिधिले बहिष्कारमा उत्रिएका हुन्।
सम्मेलन पहिल्यै गर्नुपर्ने भए पनि चुनावको मुखमा आएर आयोजना गरिनु सही नभएको कांग्रेस जनप्रतिनिधिहरूको तर्क छ।
पोखरा महानगरपालिका-९ का कांग्रेसबाट विजयी वडाध्यक्ष रामराज लामिछानेले सम्मेलन पहिल्यै गर्नुपर्ने भए पनि हाल आएर स्वार्थपूर्तिका लागि आयोजना गरिएको बताए ।
सम्मेलनका लागि गठित समितिमा आफूहरुलाई सहभागी नगराइएको र न्यायिक सम्मेलनका नाममा एमालेको चुनावी फन्डा गरेको आरोप उनीहरूले लगाएका छन्।
पोखरा महानगरपालिकामा कांग्रेसका ११ वडाअध्यक्षसहित कुल ४७ जनप्रतिनिधि छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले न्यायिक समितिको प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटन गरेकी हुन्। पोखराको सभागृहमा आयोजित सम्मेलनमा ७५३ वटै पालिकाका न्यायिक समितिका प्रमुख एवं सदस्यको उपस्थिति रहेको छ।











