युक्रेनका स्वास्थ्य संस्थामा ७२ पटक आक्रमण भएको डब्लुएचओको दाबी
न्युयोर्क, चैत १४ : रुसले युक्रेनका स्वास्थ्य संस्थामा ७२ पटक आक्रमण गरेको संयुक्त राष्ट्रसंघीय निकायले जनाएको छ।राष्ट्रसंघ अन्तर्गतको विश्व स्वास्थ्य सङ्गठनले रुसले युक्रेनमा...
न्युयोर्क, चैत १४ : रुसले युक्रेनका स्वास्थ्य संस्थामा ७२ पटक आक्रमण गरेको संयुक्त राष्ट्रसंघीय निकायले जनाएको छ।
राष्ट्रसंघ अन्तर्गतको विश्व स्वास्थ्य सङ्गठनले रुसले युक्रेनमा आक्रमण सुरु गरेदेखि अहिलेसम्म स्वास्थ्य संस्थाहरूमा ७२ आक्रमण भएको जनाएको हो।
रुसले युक्रेनमा गत फेब्रुअरी २४ देखि निरन्तर शसस्त्र आक्रमण गर्दै आएको छ । स्वास्थ्य संस्थाहरू माथि आक्रमण गर्नु आधारभूत मानवअधिकार विरुद्धको अपराध र अन्तर्राष्ट्रिय युद्ध अपराध सरह हुने अधिकारवादीहरूले जनाएका छन्।
रुसी सुरक्षाकर्मीहरूले युक्रेनी स्वास्थ्य संस्थाहरूमा आक्रमण गर्दा ७१ जनाको मृत्यु पनि भएको डब्लुएचओको प्रतिवेदनमा उल्लेख गरिएको छ।
डब्लुएचओको प्रतिवदेन पढेपछि राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले गहिरो चिन्ता व्यक्त गरेका छन्।
उनले भन्नु भएको छ, 'मानिसको स्वास्थ्यको अधिकारको रक्षा हुनुपर्दछ, स्वास्थ्य संस्था माथि जस्तो सुकै युद्धका बेलामा पनि आक्रमण गर्न पाइँदैन।'
रुसले युक्रेनमाथि आक्रमण गरेकोप्रति पश्चिमा देशहरु सहित विश्वभरका अधिकांश देशहरूले रुसको आलोचना गरेका छन्।
अन्तर्राष्ट्रिय निकाय तथा मानवअधिकारवादी सङ्गठनहरूले पनि तत्काल आक्रमण रोकेर वार्ता मार्फत शान्ति कायम गर्न रुसलाई आग्रह गरेका छन्।












