Kathmandu Press

शुक्रबार भारत जाँदै प्रधानमन्त्री देउवा, शनिबार मोदीसँग भेट्ने 

परराष्ट्र मन्त्रालयका अनुसार भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा प्रधानमन्त्री देउवा भारत भ्रमणमा जान लागेका हुन्।
शुक्रबार भारत जाँदै प्रधानमन्त्री देउवा, शनिबार मोदीसँग भेट्ने 

काठमाडौं, चैत १४ : प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण तय भएको छ । सोमबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री देउवा तीन दिने भ्रमणका लागि शुक्रबार (चैत १८) गते भारत जान लागेको जानकारी गराएको हो। 

मन्त्रालयका अनुसार भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा प्रधानमन्त्री देउवा भारत भ्रमणमा जान लागेका हुन्। उनी आइतबार स्वदेश फर्कने मन्त्रालयले जनाएको छ। 

प्रधानमन्त्री देउवाले भारतका उपराष्ट्रपति एम वैंकैया नायडुसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ। यसैगरी १९ गते भारतीय समकक्षी मोदीसँग प्रधानमन्त्री देउवाको भेटवार्ता हुनेछ। त्यस्तै भारतका विदेशमन्त्री र राष्ट्रिय सुरक्षा सल्लाहकारले पनि प्रधानमन्त्री देउवालाई भेट गर्ने कार्यक्रम रहेको विज्ञप्तिमा उल्लेख छ। भारत भ्रमणको अवसरमा प्रधानमन्त्रीले नयाँ दिल्लीमा व्यवसायीको भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। 

 स्वदेश फर्कनुअघि प्रधानमन्त्री देउवाले वाराणसी भ्रमण गर्ने कार्यक्रम समेत रहेको छ। मन्त्रालयले प्रधानमन्त्रीको भारत भ्रमणले दुई देशबीचको बहुआयामिक, सदिऔं पुरानो र सौहार्दपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गरेको छ।

भ्रमणमा प्रधानमन्त्री देउवासँग उनकी पत्नी आरजु राणा देउवा, परराष्ट्रमन्त्री नारायण खड्का र अन्य मन्त्री र सचिवहरु सहभागी हुने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। प्रधानमन्त्री बनेपछि देउवाको यो पहिलो अन्तर्राष्ट्रिय भ्रमण हो। यसअघि गुजरातमा हुने सम्मेलनमा जाने भनिएपनि ओमिक्रोन संक्रमण बढेका कारण प्रधानमन्त्रीको भारत यात्रा स्थगित भएको थियो । 

प्रकाशित मिति: १४:०९ बजे, सोमबार, चैत १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्