विवेकशील साझामा असन्तुष्ट नेताहरुकाे छुट्टै भेला
काठमाडौं, चैत १४ : विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पार्टीमा एकलौटी निर्णय गरेको र पार्टीलाई राप्रपासँग पार्टी मिलाउन खोजेको आरोप लगाउँदै असन्तुष्ट...
काठमाडौं, चैत १४ : विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पार्टीमा एकलौटी निर्णय गरेको र पार्टीलाई राप्रपासँग पार्टी मिलाउन खोजेको आरोप लगाउँदै असन्तुष्ट नेताहरुले छुट्टै भेला गरेका छन्।
संगठन विभागका प्रमुख निर्देश सिलवाल समूहका केन्द्रीय सदस्यहरूले आज (सोमबार) भेला गरेका हुन्। राप्रपासँग पार्टी एकता गर्ने प्रस्तावको विरुद्धमा रहेकाहरू आइतबारको बैठकमा अध्यक्ष मिश्रले एकलौटी ढंगले प्रदेश संयोजक चयन गरेपछि विवेकशील साझाको विवादले चर्को रूप लिएको थियो।
असन्तुष्ट पक्षका एक नेताले केन्द्रीय समितिका आधाभन्दा बढी सदस्य भेलामा सहभागी भएको दाबी गरे। भेलापछि पत्रकार सम्मेलन गरेर निर्णय सार्वजनिक गर्ने जनाइएको छ।
आइतबार मिश्रले मधेश प्रदेशको संयोजकमा धनपति महतो, वाग्मतीमा सञ्जीव वल्लभ भट्टराई, गण्डकीमा सुशीला अधिकारी केसी र अन्तर्राष्ट्रिय समितिको संयोजकमा एसके श्रेष्ठ चयन गरेको बताएका थिए।
आफूनिकट व्यक्तिहरु नअटाएपछि सिलवाल समूहले मिश्रकाे साे निर्णयमा असहमति जनाएका थिए।
अध्यक्ष मिश्रले २६ केन्द्रीय सदस्यलाई कारबाही गरेको र पार्टी महाधिवेशन स्थानीय चुनावपछि गर्ने निर्णय गरेको पनि बताएका थिए। पार्टीका महत्वपूर्ण विषयमा छलफल नगरी एकलौटी गरेको भन्दै नेताहरु असन्तुष्ट बनेका थिए।











