Kathmandu Press

पुननिर्मित आनन्दभुवन विहार उद्घाटन

काठमाडौं, चैत १४ : काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले आज आनन्दभूवन विहारको उद्घाटन गरेका छन्। स्वयम्भू महाचैत्यको पादमूल भुइँखेलमा रहेको यो विहारलाई २०७२ सालको...
पुननिर्मित आनन्दभुवन विहार उद्घाटन

काठमाडौं, चैत १४ : काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले आज आनन्दभूवन विहारको उद्घाटन गरेका छन्। स्वयम्भू महाचैत्यको पादमूल भुइँखेलमा रहेको यो विहारलाई २०७२ सालको भूकम्पले क्षतिग्रस्त बनाएपछि २०७७ मंसिर २५ गते शिलान्यास गरेर पुननिर्माण थालिएको थियो। 

विहार २ चरणमा पुननिर्माण भइरहेको छ। ४ करोड २५ लाख रुपैयाँ लागत अनुमान रहेको विहार पुननिर्माणको पहिलो चरणमा करीब २ करोड रुपैयाँ बराबरको खर्चबाट पुननिर्माण भएको हो। 

कुल लागत २ करोडमध्य महानगरले ८५ प्रतिशत बजेट उपलब्ध गराएको थियो। बाँकी १५ प्रतिशत रकम भने उपभोक्ताले ब्यहोरेका थिए। महानगरले पहिलो चरणको रकम उपलब्ध गराइसकेको र दोस्रो चरणको सम्झौता हुने चरणमा रहेको जानकारी दिइएको छ। भक्तजनहरुबाटै करिब १ करोड ३७ लाख ८७ हजार रुपैयाँ संकलन भएको छ। 

उद्घाटनपछि बोल्दै प्रमुख शाक्यले, सम्पदासँग सम्बन्धित जुनसुकै योजनालाई उच्च प्राथमिकता दिएर कार्यान्वयन गरेकाले २०७२ सालको भूकम्पले जीर्ण भएका धेरै सम्पदा पुननिर्माण भएको बताए। ‘मैले लगेका कुनै पनि प्रस्ताव कार्यपालिकाको बैठक र नगर सभाबाट कहिल्यै अस्वीकृत भएनन्। सुधारका लागि सुझाव आए तर फिर्ता गर्नु परेन। यसरी भएका सर्वसम्मत निर्णयप्रति मलाई गौरव लागेको छ।’ 

‘हामी निर्वांचित भएपछि उद्घोष गरेका थियौँ। २०७२ सालको भूकम्पले जीर्ण भएका महानगरभित्रका सबै सम्पदाको पुननिर्माण, मर्मत वा संरक्षण गर्न सक्छौँ। हामीले बोलेका कुरा पूरा गर्ने कामका लागि प्रयास गरिरह्यौँ। कतिपय ठाउँमा प्रशासनिक र कानुनी कारण काम हुन सकेनन्। कतिपय ठाउँमा गलत नियत भएका व्यक्तिले दिने उजुरीका कारण काम हुन सकेनन्। कतिपय ठाउँमा स्वामित्व विवादका कारण काम हुन सकेनन्।’ मेयर शाक्यले भने, ‘सांस्कृतिक स्थान र गतिविधिसँग पर्यटकीय प्रवर्धनका काम गरौँ। यसबाट स्थानीयबासीको आयमा वृद्धि हुन्छ। सरकारलाई यस क्षेत्रबाट प्राप्त आयले सम्पदाको दिगो संरक्षणमा सघाउ पुग्छ।’

विहारहरुको संरक्षणको आवश्यकता पहिचान भइसकेपछि महानगरले लगानी बढाएको महानगरकी उपप्रमुख हरिप्रभा खड्गले बताइन्। उनले हरेक ५ बर्षमा हुने स्थानीय सरकारको निर्वाचनबाट नेतृत्व परिवर्तन गरे पनि महत्वपूर्ण योजनाहरुले निरन्तरता पाउने बताइन्। महानगरबासीले तिरेको करलाई जनताकै सहुलियतका काम गरेको उपप्रमुख खड्गीको भनाइ थियो।

आनन्द भूवन विहार २०३७ सालमा निर्माण भएको विहार हो। विहारमा आवासीय भिक्षुहरुले बुद्ध शिक्षा लिइरहेका छन्। विहारमा वुद्ध पूजा, ज्ञानमाला भजन, धर्मदेशना, शील प्रार्थाना, परित्राण— पाठ, पुण्यानुमोदन जस्ता कार्यहरु सञ्चालन हुँर्दै आएका छन्। 

कार्यक्रममा विहार निर्माणमा महत्वपूण सहयोग उपलब्ध गराएकोले प्रमुख शाक्य, उपप्रमुख खड्गी श्रेष्ठ र वडाध्यक्ष डंगोललाई सम्मान गरिएको थियो। 


 

प्रकाशित मिति: १३:१९ बजे, सोमबार, चैत १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्