सामूहिक बलात्कार आरोपमा तीन पक्राउ, दुई फरार
इनरुवा, असोज १५ : सुनसरीमा एक युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा तीन जना पक्राउ परेका छन्। घटनामा संलग्न अन्य दुई जना भने फरार छन्।

इनरुवा, असोज १५ : सुनसरीमा एक युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा तीन जना पक्राउ परेका छन्। घटनामा संलग्न अन्य दुई जना भने फरार छन्।
इटहरीमा सोमबार मध्यरातमा पाँच युवाको समूहले युवतीलाई सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा सुन्दरहरैचा–१२ का बसचालक विकास कसई, झापा सुरुङ्गा–४ का सुरज थापा र सिरहाका सुजेन्द्र भुजेल रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले जानकारी दिए।
घटनामा संलग्न मोरङ बेलबारीका नितेश घिमिरे र ताके भन्ने सुमन फरार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
युवाहरुले इटहरीको धरान–विराटनगर सडकखण्डको साथी पेट्रोलपम्प नजिक युवतीलाई बलात्कार गरेका थिए। धरानबाट को १ ख ४६२६ नम्बरको बसमा हालेर इटहरी ल्याएर युवतीलाई रोडको छेउमा पालैपालो बलात्कार गरेको प्रहरीले जनाएको छ।
युवाहरुको समूहले सडक छेउमै एक युवतीलाई सामूहिक बलात्कार गरेको विषयमा स्थानीयवासीले प्रहरीलाई जानकारी गराएपछि उनीहरु पक्राउ पर्न सफल भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
घटनाका विषयमा अनुसन्धान भइरहेको र पीडित युवतीको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।












