पुनःनिर्माण गरिँदै बागलुङको कोतघर
गलकोट, चैत १४ : ऐतिहासिक महत्वको सिगाना कोत घरको पुनःनिर्माण गर्न थालिएको छ।बाइसे चौबिसे राज्यका पालामा तत्कालनी राजाले राज्य गरेको सिगाना कोतघरलाई पुनःनिर्माण...
गलकोट, चैत १४ : ऐतिहासिक महत्वको सिगाना कोत घरको पुनःनिर्माण गर्न थालिएको छ।
बाइसे चौबिसे राज्यका पालामा तत्कालनी राजाले राज्य गरेको सिगाना कोतघरलाई पुनःनिर्माण गर्न थालिएको हो। बागलुङ नगरपालिका–८ स्थित कोतघरलाई पुरानो शैलीमा पुनःनिर्माण गर्नका लागि गत वर्षनै गुरुयोजना बनाइएको थियो।
नेपाल एकीकरण पूर्वराजा रजौटाहरुले स–साना राज्य सञ्चालनको क्रममा सिगानामा समेत राज्य सञ्चालन गरेको ऐतिहासिक तथा पुरातात्विक महत्वको कोत घर संरक्षणका लागि गुरुयोजना बनाएर अघि बढेको बागलुङ–८ सिगानाका वडाध्यक्ष जीतबहादुर जिसीले जानकारी दिए।
कोत घर पुनःनिर्माणका क्रममा गत वर्ष केही पर्खाल लगाइएको थियो। पर्खालको जग खन्ने क्रममा पुरातात्विक वस्तु ओखल, इँटा तथा माटाका भाडासमेत फेला परेका छन्। यस क्षेत्रमा पहिला राजाको दरबारलगायतका संरचना भएको जमिनमुनि भेट्टिएका पुरातात्विक वस्तुले समेत प्रमाणित गरेका छन्।
बाइसे चौबिसे राज्यका पालामा सिगाना, रेश, तित्याङ तथा रायडाँडामा राज्य सञ्चालन गर्ने गरेका थिए। अहिले दशैंको अघिल्लो दिन मेला लाग्ने परम्परा भए पनि ऐतिहासिक कोत संरक्षणको अभावमा मासिएको थियो।
स्थानीयकै सक्रियतामा पुरानो कोत नजिकै छेउमा सानो मन्दिर बनाएर पूजाआजा गर्दै आए पनि पुरानो संरचना संरक्षणको अभावमा एक सय वर्षअघिनै विलय भएको छ तर परम्परागत शैलीमा कोतको पुनःनिर्माण गर्नका लागि प्रारम्भ गरिएको जिसीले बताए। गुरुयोजना एक करोड २२ लाख लाग्ने अनुमान छ।
अहिले बागलुङ नगरपालिकाले ११ लाख बजेट विनियोजन गरेको र स्थानीयले ११ लाख सहयोग गर्नुपर्ने उनले बताए। बागलुङ नगरपालिकाले थप २० लाख अर्को शीर्षकबाट ठेक्का गर्न थालेको उनले बताए।
झण्डै सात रोपनी जग्गामा फैलिएको कोतको जग्गा संरक्षणसँगै अन्य भौतिक संरचना निर्माणका लागि स्थानीयले समेत साझेदारी गर्नका लागि रकम सहयोग गर्ने भएका छन्। कोत पुनःनिर्माणमा बागलुङ नगरपालिकाले आवश्यक सहयोग गर्ने र थप बजेटका लागि प्रदेश र सङ्घ सरकारलाई पहल गर्ने बागलुङ नगर प्रमुख जनकराज पौडेलले जानकारी दिए। (रासस)











