कांग्रेसले तालमेल गरेरै निर्वाचनमा जाने निर्णय गर्नेछ : नेता पौडेल
काठमाडौं, चैत १३ : नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले पार्टी केन्द्रीय समितिको बैठकमा आउँदो वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा तालमेल गरेरै जाने निर्णय हुने...
काठमाडौं, चैत १३ : नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले पार्टी केन्द्रीय समितिको बैठकमा आउँदो वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा तालमेल गरेरै जाने निर्णय हुने बताएका छन्।
आज (आइतबार) पार्टीको केन्द्रीय कार्यालय सानेपामा पत्रकारहरूसँग कुराकानी गर्दै उनले बैठकमा धारणा राख्ने क्रममा सबैजसो केन्द्रीय सदस्यले तालमेल गरेर जानुपर्नेमा जोड दिएको बताए।
‘धेरैजसो केन्द्रीय सदस्यको सुझाव तालमेल गर्नुपर्छ भन्ने नै छ,’ उनले भने, ‘कहाँकहाँ लिने, कहाँकहाँ छाड्ने भनेर सल्लाह होला। यो बैठकले नै चुनावी तालमलबारे सैद्धान्तिक र नीतिगत निर्णय गर्नेछ।’
केन्द्रीय समिति बैठक शुक्रबार सुरु भएको हो। आज दोस्रो दिनको बैठकमा चुनावी गठबन्धन, टिकट वितरण गर्न संसदीय समिति बनाउने, आउँदो वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि तयारीलगायत विविध विषयमा छलफल चलिरहेको छ।











