चीनमा दुर्घटनाग्रस्त विमानमा रहेका सबै १३२ यात्रुको मृत्यु भएको पुष्टि
बेइजिङ, चैत १३ : चीनमा गत सोमबार दुर्घटना भएको विमानका सबै १३२ जना यात्रुको मृत्यु भएको पुष्टि भएको छ।घटनालगत्तै घटनास्थलमा खोजी तथा उद्धारका...
बेइजिङ, चैत १३ : चीनमा गत सोमबार दुर्घटना भएको विमानका सबै १३२ जना यात्रुको मृत्यु भएको पुष्टि भएको छ।
घटनालगत्तै घटनास्थलमा खोजी तथा उद्धारका लागि ठूलो सङ्ख्यामा उद्धारकर्ताहरूका परिचालन गरिए पनि विमानको ‘ब्याकबक्स’ मात्रै फेला परेको छ।
चाइना इस्टर्न एयरलाइन्सको विमान गत सोमबार दक्षिणी चीनको गुआन्छी झुआङ क्षेत्रमा बेपत्ता भएको थियो। घटना भएको छैटौँ दिन शनिबार उद्धारकर्ताले घटनामा परेका सबै यात्रु मृत्यु भएको घोषणा गरेका हुन्।
‘बेपत्ता भएको विमानमा रहेका सबैको मृत्यु भएको छ, कोही पनि जीवितै भेट्न सकिएको छैन, यो अत्यन्त दुःखद खबर हो,’ चिनियाँ नागरिक उड्डयन प्रशासनका उपप्रमुख हु झेन्जियाङले भने।
घटनामा परी मृत्यु भएका मध्ये १२३ जना यात्रु र नौ जना चालक दलका सदस्य रहेको पनि उनले बताए।
घटनास्थलमा खोजी तथा उद्धारका लागि चिनियाँ कम्युनिस्ट पार्टी र राज्य परिषद्को सिफारिसमा अग्नि नियन्त्रक, सशस्त्र प्रहरी, सैन्य अधिकारी, सार्वजनिक सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्वयंसेवकलगायत खटिएका थिए।
घटनामा मृत्यु भएका मध्ये १२० जनाको डिएनए परीक्षण गरी पहिचान भइसकेको पनि अधिकारीहरूले जानकारी दिएका छन्।
दक्षिणपश्चिमी चिनियाँ प्रान्त युनानको राजधानी कुन्मीङदेखि गुन्डोङ प्रान्तको राजधानी गोन्झाउ तर्फ जार्दै गरेको बेला विमान बेपत्ता भएको हो।
स्थानीय समय अनुसार सोमबार दिउसो २.३८ बजे विमान बेपत्ता भएको अधिकारीहरूले जनाएका छन्।












