कांग्रेस केन्द्रीय समिति दोस्रो दिनको बैठक सानेपामा जारी
काठमाडौं, चैत १३ : नेपाली कांग्रेस केन्द्रीय समितिको दोस्रो दिनको बैठक आज (आइतबार) पार्टी कार्यालय सानेपामा जारी छ।आजको बैठक पनि आउँदो वैशाख ३० गते...
काठमाडौं, चैत १३ : नेपाली कांग्रेस केन्द्रीय समितिको दोस्रो दिनको बैठक आज (आइतबार) पार्टी कार्यालय सानेपामा जारी छ।
आजको बैठक पनि आउँदो वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा केन्द्रित हुने जनाइएको छ। यसअघि शुक्रबार पहिलो दिनको बैठक भएकाे थियाे।
आजको बैठकमा ‘घरघर जाऔं काग्रेसलाई जिताऔं’ एक महिने अभियानमा खटिएका केन्द्रीय सदस्यहरूले आफू गएको जिल्लाको वस्तुगत अवस्थाबारे ब्रिफिङ गर्ने बैठकमा कार्यसूची रहेको कांग्रेसको भनाइ छ।
त्यसका लागि केन्द्रीय सदस्यलाई पाँचपाँच मिनेटको समय उपलब्ध गराइएको कांग्रेसले जनाएको छ।
शुक्रबारको बैठकमा ६ प्रदेशका सभापतिसहित २७ जनाले आफ्नो धारणा राखेका थिए। सोही बैठक पनि स्थानीय तह निर्वाचन, गठबन्धनलगायत अन्य विविध विषयमा छलफल भएको थियो।
आज पनि गठबन्धनबारे छलफल हुने बताइएको छ।
कांग्रेसभित्र चुनावी तालमेलबारे फरकफरक मत छ। प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवा पार्टीलाई बलियो बनाउन निर्वाचनमा गठबन्धन्धन गरेर जानुपर्ने पक्षमा छन्।
तर नेता शेखर कोइरालाले भने पार्टीले गठबन्धन नगरी आफ्नै विचार र सिद्धान्तले निर्वाचन लड्नुपर्नेमा जोड दिँदै आएका छन्।











