धुलो नियन्त्रण गर्न माग गर्दै सडक अवरुद्ध
कञ्चनपुर, चैत १३ : सडकमा धुलो उड्न थालेपछि स्थानीय व्यवसायीले कलुवापुर–बेलौरी सडकखण्डको कलुवापुर चौराहमा सडक अवरुद्ध गरेका छन्।निर्माणाधीन सडकमा धुलोका कारण सवारीसाधन सञ्चालन...
कञ्चनपुर, चैत १३ : सडकमा धुलो उड्न थालेपछि स्थानीय व्यवसायीले कलुवापुर–बेलौरी सडकखण्डको कलुवापुर चौराहमा सडक अवरुद्ध गरेका छन्।
निर्माणाधीन सडकमा धुलोका कारण सवारीसाधन सञ्चालन गर्न कठिनाइ हुन थालेपछि व्यवसायीले शनिबार सडक अवरुद्ध गरेका हुन्। धुलोका कारण सवारीसाधन सञ्चालन गर्दा यात्रुलाई समेत कठिनाइ हुन थालेको अटोचालक धीरज कार्कीले बताए।
सवारी दुर्घटनासमेत बढ्ने सम्भावना भएपछि सडक अवरुद्ध गरिएको उनको भनाइ छ। शनिबार एक घण्टा सडक अवरुद्ध गरेका उनीहरुले आजबाट चार घण्टा अवरोध गर्ने भएका छन्।
कलुवापुर बजार क्षेत्रमा पसल सञ्चालन गर्दै आएका व्यवसायी हरिसिंह सेटीले पसलमा राखेको सामान धुलोका कारण बिग्रन थालेको र पसलमा बस्नै नसकिने अवस्था आएपछि सडक अवरुद्ध गरिएको बताए। वडा कार्यालयमा पटक–पटक धुलो नियन्त्रणका लागि गुहार्दासमेत सुनुवाइ हुन नसकेपछि बाध्य भएर सडक अवरुद्ध गरिएको स्थानीय व्यापारी कर्ण महराले बताए।
स्थानीय व्यवसायीले धुलो नियन्त्रणका लागि सडकमा पानी छर्कने व्यवस्था मिलाउन माग गरेका गरेका छन्। हावाहुरी चल्ने मौसम सुरु भएसँगै निर्माणाधीन सडकमा गुड्ने सवारीसाधनका कारण सबैभन्दा बढी सडकछेउमा व्यापार गर्ने व्यवसायी प्रभावित भएका छन्।
धुलोका कारण अधिकांशमा स्वासप्रश्वाससम्बन्धी समस्यासमेत देखिन थालेको व्यवसायीहरूको भनाइ छ । सडक निर्माणको जिम्मा थेगिम कन्ट्रक्शनले पाएको छ। (रासस)











