Kathmandu Press

पोखरा विमानस्थल नेपाललाई हस्तान्तरण

नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले प्रधानमन्त्री शेरबहादुर देउवालाई विमानस्थलको साँचो हस्तान्तरण गरेका हुन्।
पोखरा विमानस्थल नेपाललाई हस्तान्तरण

काठमाडौं, चैत १२ : चीन सरकारद्वारा निर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आज (शनिबार) नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ।

चीन सरकारले नेपाललाई बालुवाटारमा आयाेजित एक कार्यक्रमबीच विमानस्थल हस्तान्तरण गरेकाे हो। नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले प्रधानमन्त्री शेरबहादुर देउवालाई विमानस्थलको साँचो हस्तान्तरण गरेका हुन्।

विमानस्थल हस्तान्तरण समारोह भर्चुअल विधिबाट गरिएको थियो। सो प्रयोजनका लागि आवश्यक व्यवस्थापन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले पोखरा गएका थिए।  

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका आयोजना प्रमुख विनेश मुनकर्मीका अनुसार अहिलेसम्म विमानस्थलको ९३ प्रतिशत काम सकिएको छ। उनका अनुसार विमानस्थल निर्माणको बाँकी रहेको ७ प्रतिशत काममा डेकोरेसन, फिनिसिङलगायत छन्।

विमानस्थलको रनवे, विमानस्थल पार्किङ, ट्याक्सी पार्किङ, एप्रोन, ह्यांगर, टर्मिनल भवन, ट्रान्सफर्मरलगायत १४ वटा भवनको निर्माण कार्य यसअघि नै सकिएको हो।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा टर्मिनल भवन हुँदै सोझै जहाजभित्र जाने विमान पुल (प्यासेन्जर बोडिङ ब्रिज) एउटा जडान भइसकेको छ भने अर्को जडान गर्न बाँकी रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ।

गएको जुलाई १० मै निर्माणको काम सकेर हस्तान्तरण गर्ने भनिएकामा कोरोना सङ्क्रमणका कारण एक वर्षपछि सरेको हो। उक्त विमानस्थलमा आगामी वैशाखदेखि परीक्षण उडान गर्ने लक्ष्य राखिएको छ।

यस विमानस्थलमा बोइङ ७५७ र एअरबस ३२० सम्मका विमान उडान तथा अवतरण गर्न सक्छन्।

प्रकाशित मिति: १९:०८ बजे, शनिबार, चैत १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्