भारतको दिल्ली सरकारले 'ई हेल्थ कार्ड' वितरण गर्ने

नयाँ दिल्ली, चैत १२ : भारतको दिल्ली सरकारले आफ्ना नागरिकलाई 'ई हेल्थ कार्ड' वितरण गर्ने भएको छ।
मुख्यमन्त्री अरविन्द केजरीवालले कार्ड वितरण गर्ने कार्यलाई तयारी अवस्थामा पुर्याउन सम्बन्धित निकायका अधिकारीलाई शुक्रबार निर्देशन दिएका छन्।
भारतमा अर्को वर्ष सन् २०२३ को मार्चदेखि स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली लागूगर्ने तयारी भएकाले त्यस अगाडि नै सबैलाई 'ई हेल्थ कार्ड' वितरण गरिसक्नु पर्ने भएको हो।
स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली लागू हुनुभन्दा कम्तीमा पनि तीन महिना अगाडि सम्ममा ई हेल्थ कार्ड सबैलाई वितरण भइसक्नुपर्ने अधिकारीले जनाएका छन्।
स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली लागू गराउनका लागि भइरहेको तयारीका बारेमा जानकारी लिन र समीक्षा गर्न शुक्रबार बसेको सरोकारवालाको बैठकमा मुख्यमन्त्री केजरीवालले “इ हेल्थ कार्ड” वितरण सुरु गर्नुपर्नेमा जोड दिएका थिए।
नागरिकलाई वितरण गरिने इ हेल्थ कार्ड क्युआर कोडमा आधारित हुने र त्यसबाट नागरिकका स्वास्थ्यसम्बन्धी सम्पूर्ण विवरण प्राप्त गर्न सकिने अधिकारीले जनाएका छन्।
स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली लागू गरेपछि स्वास्थ्य सेवा प्रदान गर्ने र लिने दुवै पक्षलाई सजिलो र छिटो हुने, धेरै झन्झट कटौती हुने सरकारी अधिकारीको दाबी छ।












