सांसद साहमाथि एमालेले आक्रमण गरेको जसपाकाे आरोप
काठमाडौं, चैत १२ : जनता समाजवादी पार्टी (जसपा) ले सांसद प्रमोद साहमाथि एमालेले आक्रमण गरेको आरोप लगाएको छ। प्रतिनिधिसभा जसपा संसदीय दलका प्रमुख...
काठमाडौं, चैत १२ : जनता समाजवादी पार्टी (जसपा) ले सांसद प्रमोद साहमाथि एमालेले आक्रमण गरेको आरोप लगाएको छ। प्रतिनिधिसभा जसपा संसदीय दलका प्रमुख सचेतकसमेत रहेका साहमाथि आज बिहान बाटोबारे भएको विवादका कारण झडप हुँदा आक्रमण भएको थियो।
झडपमा डुंगा हानाहान भएको र केही व्यक्तिले साहमाथि आक्रमण गर्दा टाउकोमा गहिरो चोट लागेको थियाे। झडपमा परी गम्भीर घाइते भएका उनलाई उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको छ।
जसपाका केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले आज (शनिबार) विज्ञप्ति जारी गरेर दोषीमाथि कारबाही माग गरेका छन्। ‘उक्त घटनाका दोषीमाथि अविलम्ब कडाभन्दा कडा कारबाही गर्न तथा शान्ति सुरक्षाको प्रत्याभूति हुने गरी काम गर्न नेपाल सरकारसँग जोडदार माग गर्दछ,’ विज्ञप्तिमा भनिएकाे छ।
पार्टी कामको सिलसिलामा गृहजिल्ला पुगेका साहमाथि सुनियोजित ढंगले आक्रमण भएको र अन्य कैयौं कार्यकर्ता पनि घाइते भएको भन्दै जसपाले सो घटनाप्रति घोर भर्त्सना व्यक्त गरेको छ।
एमालेले त्यस्तो घृणित र आपराधिक क्रियाकलाप बन्द नगरे यसबाट हुने गम्भीर परिणामको जिम्मेवार स्वयं एमाले हुने चेतावनी पनि विज्ञप्तिमा दिइएको छ।
फुलजोर–त्रिभुवननगर सडकखण्ड विस्तार गर्ने क्रममा फुलजोर युवा क्लबको भवन बनाउने कि बाटो कायम गर्ने भन्ने विषयमा दुई पक्षबीच विवाद बढ्दै जाँदा झडप भएको थियो।












