बाटो विवादले झडप हुँदा सांसद साह घाइते, हेलिकोप्टरबाट काठमाडौं लगियाे
काठमाडौं, चैत १२ : बाटोकाे विषयमा विवाद बढ्दै गई दुई पक्षबीच झडप हुँदा जनता समाजवादी पार्टी (जसपा) का संघीय सांसद प्रमोद साह गम्भीर घाइते भएका...
काठमाडौं, चैत १२ : बाटोकाे विषयमा विवाद बढ्दै गई दुई पक्षबीच झडप हुँदा जनता समाजवादी पार्टी (जसपा) का संघीय सांसद प्रमोद साह गम्भीर घाइते भएका छन्।
आज (शनिबार) सर्लाहीको ईश्वरपुर नगरपालिकाको बयलबास बजारमा बाटो बनाउने विषयमा दुई पक्षबीच झडप भएको थियो। झडपमा ढुंगा हानाहान हुँदा जसपाका प्रमुख सचेतकसमेत रहेका साहको टाउकोमा गहिरो चोट लागेको छ। उनलाई उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं लगिएको छ।
फुलजोर–त्रिभुवननगर सडकखण्ड विस्तार गर्ने क्रममा फुलजोर युवा क्लबको भवन बनाउने कि बाटो कायम गर्ने भन्ने विषयमा दुई पक्षबीच विवाद बढ्दै जाँदा झडप भएको थियो।
सर्लाही–१ बाट प्रत्यक्षमा निर्वाचित सांसद साह पक्षले बाटो कायम हुनुपर्ने र अर्को पक्षले क्लबकै भवन बन्नुपर्ने अडान राख्दै आएका थिए।
उनको अंगरक्षक असई विनोद प्रसाद याद पनि घाइते भएका छन्। उनीसँग रहेको पेस्तोल र ७ राउन्ड गोली पनि खोसिएको बताइएको छ।
सांसद साहको गाडीमा पनि स्थानीयले तोडफोड गरेका छन्। प्रहरीका अनुसार केही मोटरसाइकलमा आगजनी भएको छ।
बयलवास बजार क्षेत्रमा अहिले ठूलो सङ्ख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ गरिएको छ। इलाका प्रहरी कार्यालय केशरगन्जले अहिले अवस्था सामान्य भइसकेको जानकारी दिएकाे छ।











