काेराेनाकाे खतरा टरिनसकेकाले स्वास्थ्य मापदण्ड परिपालना अनिवार्य : अध्यक्ष तिमिल्सिना
जनकपुर, चैत १२ : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आसन्न स्थानीय तह निर्वाचनको प्रचारप्रसारमा जाँदा मास्कको अनिवार्य प्रयोग गर्न जनप्रतिनिधि तथा राजनीतिक दलका नेताहरुसँग...जनकपुर, चैत १२ : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आसन्न स्थानीय तह निर्वाचनको प्रचारप्रसारमा जाँदा मास्कको अनिवार्य प्रयोग गर्न जनप्रतिनिधि तथा राजनीतिक दलका नेताहरुसँग आग्रह गरेका छन्।
विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज जनकपुरधाममा आयोजित ‘कोभिड–१९ विरुद्धको खोपसम्बन्धी जोखिम सञ्चार तथा सामुदायिक सहभागिता’ विषयक अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष तिमिल्सिनाले कोभिड-१९ सङ्क्रमणको खतरा अझै कायम रहेकाले स्वास्थ्य मापदण्डको परिपालना गर्नुपर्ने बताएका छन्।
जनतामा मत माग्न जाँदा विकास र समृद्धिका नारा मात्र होइन कोभिड–१९ बारे जोगिने विषयमा जनचेतनासमेत फैलाउन आग्र्रह गर्नुहुँदै अध्यक्ष तिमिल्सिनाले कोभिड–१९ महामारीबाट जोगिन सबै पक्ष गम्भीर हुनुपर्ने आवश्यक रहेको औंल्याए। विश्वका कतिपय मुलुकहरुमा अझै कोभिड–१९ सङ्क्रमणका कारण मानवीय क्षति भइरहेकाले नेपाललाई कोभिड–१९ मुक्त घोषणा नगरेसम्म सबैले अनिवार्य रुपमा मास्क लगाउनुपर्ने बताए।
कोभिड–१९ सङ्क्रमणको जोखिमलाई कम गर्न खोप लगाउने कार्यलाई तीव्र गति दिनुपर्ने औंल्याउनुहुँदै अन्य प्रदेशको तुलनामा मधेस प्रदेशमा अझै खोप लगाउने दर बढ्न नसकेकाले यसलाई प्रभावकारी बनाउनुपर्ने उल्लेख गरे। कार्यक्रममा नेपालस्थित विश्व स्वास्थ्य सङ्गठन कार्यालयका प्रमुख डा. राजेश सम्भाजीराव पाण्डवले कोभिड–१९ सङ्क्रमण नियन्त्रण र रोकथामका लागि नेपालमा भएको प्रयास प्रशंसनीय रहेको बताउँदै अझै स्वास्थ्य मापदण्डको पालना गर्नुपर्ने बताए।
नेपालमा कोभिड–१९ सङ्क्रमणको दर घटे पनि जोखिम अझै कायम रहेकाले खोप अभियानलाई प्रभावकारी बनाउन सुझाव दिनुहुँदै उहाँले खोप लगाएपछि कोभिडको कारण ज्यान जाने सम्भावना कम हुने भएकाले निर्धक्कपूर्वक खोप लगाउन आग्रह गरे।
मधेस प्रदेशसभाका सभामुख सरोजकुमार यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्नुहुँदै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता सङ्गीता कौशल मिश्राले नेपालमा ६४ प्रतिशतले पूर्ण र ७५ प्रतिशतले एक मात्रा डोज खोप लगाएको जानकारी दिए।











