पोखरा विमानस्थल निर्माणको ९३ प्रतिशत सकियो, आजै ‘सिम्बोलिक की’ प्रधानमन्त्रीलाई हस्तानण गरिने
कास्की, चैत १२ : पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। चीनको एक्जिम बैंकको २२ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण...
कास्की, चैत १२ : पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। चीनको एक्जिम बैंकको २२ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण भइरहेको विमानस्थलको काम ९३ प्रतिशत काम सकिएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाले जनाएको छ ।
विमानस्थलको मुख्य निर्माण कार्य र यान्त्रिक जडानको काम सकिएपछि चिनियाँ निर्माण कम्पनी सिएएमसीइले हस्तान्तरण गर्ने बताइएको छ। विमानस्थलको धावनमार्ग, टर्मिनल भवन, एयर ट्राफिक कन्ट्रोल (एटिसी) भवनलगायत विभिन्न १४ भवन, ट्याक्सी वेलगायत मुख्य काम सकिएका छन् ।
विमानस्थल आयोजनाका वरिष्ठ अधिकृत सविन फुयाँलले विमानस्थलका मुख्य काम सबै सकिएको र सामान्य केही काम मात्र बाँकी रहेको बताए। सरकारले यसै वर्षभित्रमा विमानस्थल सञ्चालनमा ल्याउने योजना बनाएको छ ।
चीनका परराष्ट्रमन्त्री वाङ यीको नेपाल भ्रमणका अवसरमा आज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका पूर्वाधार सांकेतिकरुपमा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)लाई हस्तान्तरण गर्ने कार्यक्रम छ । मुख्य निर्माण कार्य र यान्त्रिक जडानको काम सम्पन्न भएकाले विमानस्थल हस्तान्तरण गर्न लागिएको हो ।
विमानस्थल आयोजना प्रमख विनेश मुनंकर्मीका अनुसार आज साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शेरबहादुर देउवालाई चीनका परराष्ट्रमन्त्री वाङ यीले ‘सिम्बोलिक की’ हस्तान्तरण गर्नेछन्। सोही समयमा पोखरा आयोजनास्थलमा पनि चिनियाँ निर्माण कम्पनीलाई पर्यटनमन्त्री प्रेमबहादुर आलेले कदरपत्र प्रदान गर्ने बताइएको छ।
निर्माण कम्पनीसँगको सम्झौताअनुसारका आयोजनाका मुख्य काम सकिएपनि विमानस्थल सञ्चालनका लागि पूर्णरुपमा तयार हुन अझै काम बाँकी नै छन् । आयोजनाका अनुसार नेपाली पक्षले गर्नुपर्ने ‘ल्याण्डफिल साइट’ व्यवस्थापन, विमानस्थलको पूर्वपट्टीको रिठेपानी डाँडा कटान र ‘फ्युल स्टेशन’को काम अझै सुरु हुन सकेको छैन । बाँकी कामका लागि कागजी प्रक्रिया अघि बढे पनि स्वीकृत हुन बाँकी छ ।











