‘सकारात्मक आदेश भए एकसाता भित्रै संघको साधारणसभा गर्न सक्छौं’
काठमाडौं चैत ११ : नेपाल पर्वतारोहण संघ (एनएमए) को ३१ औं केन्द्रिय बार्षिक साधारणसभा स्थगित भएको छ। शुक्रबार पत्रकार सम्मेलन गर्दै संघका महासचिव कुलबहादुर...
काठमाडौं चैत ११ : नेपाल पर्वतारोहण संघ (एनएमए) को ३१ औं केन्द्रिय बार्षिक साधारणसभा स्थगित भएको छ। शुक्रबार पत्रकार सम्मेलन गर्दै संघका महासचिव कुलबहादुर गुरूङले मुद्दा परेका कारण संघको ३१ औं वार्षिक साधारणसभा स्थगित गर्नुपरेको जानकारी दिएका छन्।
उनले सम्पूर्ण तयारी भइसकेको साधारणसभा रोकिनुले सङ्घलाई अत्यन्त स्तब्ध तथा दुखी तुल्याएको बताएका छन्। विवाद समाधान भएको अवस्थामा संघ तत्काल निर्वाचन गर्न सक्ने स्थितिमा रहेको पनि उनले जानकारी दिएका छन्।
सङ्घका पूर्वसल्लाहकार जेबी सिंह, पूर्व अध्यक्ष आङछिरिङ शेर्पा, पूर्वअध्यक्ष जिङ्बा जाङ्बु शेर्पा लगायतले जिल्ला प्रशासन कार्यालय काठमाडौँमा गत फागुन २९ गते साधारणसभा रोकी तदर्थ समिति गठनको माग गर्दै उजुरी दिएपछि संघमा विवाद उत्पन्न भएको थियो।
उजुरीबारे छलफलका लागि प्रशासनले बोलाएको र चैत ४ र ८ गते विभिन्न चरणमा छलफल भए पनि वर्तमान कार्यसमितिलाई भङ्ग गरी तदर्थ समिति गठन गरिनुपर्ने अडान नछोडेकाले समस्या आएको सङ्घका पदाधिकारीको भनाइ छ ।
विवाद उत्कर्षमा पुगेपछि सोलुखुम्बु घर भई काठमाडौं बस्दै आएका काजी शेर्पा र आङ नोबु शेर्पाले साधारणसभा रोक्न माग गर्दै उच्च अदालत पाटनमा रिट दायर गरेका थिए। रिटको सुनुवाइमा उच्च अदालत पाटनले चैत ८ गते अल्पकालीन आदेश जारी गर्दै सङ्घको साधारणसभा नगर्नु÷नगराउनु भनी अल्पकालीन आदेश दिएको थियो।
‘उच्च अदालत पाटनबाट मिति ८ चैत २०७८ जारी भएको अल्पकालीन अन्तरिम आदेशलाई सम्मान गर्दे अर्काे सूचना नआएसम्मका लागि स्थगित गरिएको हो,’ पत्रकार सम्मेलनमा संघका अध्यक्ष सन्तवीर लामाले भने, ‘उनीहरूको व्यक्तिगत स्वार्थका कारण संघलाई नोक्सान पुर्याउन मुद्दा दायर गरेको देखिन्छ । चैत १५ गते छलफल छ त्यसपछि मात्र कहिले हुने निर्णय गर्न सक्छौँ ।’

अध्यक्ष लामाले २०२० मै हालको कार्यसमितिको पदावधि सकिने भएपनि कोभिड–१९ र लकडाउनका कारण समयमै साधारणसभा गर्न नसकिएको बताए। अवस्था सामान्य भएलगत्तै साधारणसभाका लागि समय, स्थान र प्रस्तावहरु तयार पारी सार्वजनिक गरिसकिएको बताए।
साथै साधारणसभामा वितरण गर्नका लागि तयार पारिएको रेडबुकको पीडीएफ भर्सन साधारण सदस्यहरूको जानकारीका लागि ८ चैत दिननै वेबसाईटमा राखिएको अध्यक्ष शन्त वीरले जानकारी दिए । ‘बार्षिक साधारणसभाको तयारी कार्य अन्तिम अवस्थामा पुगिसकेको अवस्थामा एक्कासी सो रोक्नु पर्दा संघले १० लाख रूपैयाँ नोक्सान व्याहोनु परेको छ,’ अध्यक्ष लामाले भने, ‘अदालबाट निर्णय आएमा एकसाता भित्र पनि साधारणसभा गर्न सक्छौँ ।’











