नेपालकाे अर्थतन्त्र चारपाँच दशकदेखि उस्तै समस्या रूमलिएकाे छ : डा. भट्टराई
काठमाडौं, चैत ११ : जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले तथ्यांकले अर्थतन्त्रमा समस्या छन् भन्ने देखाएको...
काठमाडौं, चैत ११ : जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले तथ्यांकले अर्थतन्त्रमा समस्या छन् भन्ने देखाएको तर समाधान हुन नसकेको बताएका छन्।
शुक्रबार काठमाडौंमा सुरु भएको अर्थशास्त्री सम्मेलनलाई सम्बोधन गर्दै उनले नेपाली अर्थतन्त्रमा चारपाँच दशकदेखि उस्तै समस्या रहेको बताएका छन्।
‘४०–५० वर्षदेखि नेपालको आर्थिक वृद्धिदर ४–५ प्रतिशतको हाराहारीमा रहेको छ,’ उनले भने। उनले नेपाललाई तथ्यांकको खेलबाट परिमुक्त गरिदिन अर्थशास्त्रीहरूलाई आग्रह गरे।
‘तथ्यांकले समस्या देखाउँछ तर समाधान देखाउँदैन। तथ्यांकले के समस्या भन्ने बताउँछ तर किन समस्या आयो र कसरी समाधान गर्ने भन्ने देखाउँदैन। तथ्यांक हेरेर समस्या छ भनेर मात्रै बस्नुहुँदैन,’ उनले भने।
कोरियाजस्ता देश मात्र नभएर कुनै बेला नेपालभन्दा कमजोर भुटान, बंगलादेशलगायत देश आर्थिक रूपले माथि गइरहेको बताउँदै उनले बताए।
‘हामी गरिब छौं। बेरोजगार छौं। परनिर्भर छौं। आयातमा निर्भर छौं। भएको पुँजी पनि खर्च गर्ने क्षमता छैन। भ्रष्टाचार छ। असमानता छ। यो सबैलाई थाहा भएको विषय हो,’ उनले भने, ‘यो किन भयो भनेर हामीले प्रश्न गर्नु आवश्यक छ।’
युवाहरु वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता रहेकोले भविष्यमा बुढापाका मात्रै नेपालमा बस्ने दिने आउन सक्ने भन्दै उनले चिन्ता व्यक्त गरे।











