Kathmandu Press

नयाँ वर्षको अवसरमा औद्योगिक व्यापार मेलाको आयोजना हुने

नयाँ वर्षको अवसरमा औद्योगिक व्यापार मेलाको आयोजना हुने

भक्तपुर, चैत ९ : नयाँ वर्षको अवसरमा औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज व्याण्डले छैटौँ भक्तपुर औद्योगिक सांस्कृतिक पर्यटन तथा व्यापार मेला २०७८/०७९ को आयोजना गर्ने भएको छ।  

आज यहाँ संस्थाले आयोजना गरेको पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष सन्दीप महतले कोभिड–१९ का कारण दुई वर्ष मेला आयोजना हुन नसके पनि यस वर्ष भने मेला यही चैत २४ गतेदेखि वैशाख ४ गतेसम्म सञ्चालन हुने जानकारी दिए। नयाँ वर्षको अवसरमा एउटै छानामुनि उपभोक्ताले चाहेका हरेक सामग्री सहज र सुपथ मूल्यमा उपलब्ध गराउने उद्देश्यले बृहत् औद्योगिक तथा व्यापार मेला आयोजना गर्न लागिएको उनले बताए। भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको नाममा रहेको ९९ रोपनी जग्गामा मेलाको आयोजना गरिने जानकारी दिँदै उनले मेलामा २०० भन्दा बढी स्टल रहने बताए।

Hardik ivf

पत्रकार सम्मेलनमा मेलाका संयोजक दीपक थापाले मेलामा मानवीय दैनिक जीवनमा प्रयोगमा आउने सम्पूर्ण उपभोग्य सामग्री औद्योगिक उत्पादन, सूचना तथा विज्ञान प्रविधि, ग्रामीण प्रविधि, अटोमोबाइल, विद्युतीय मेसिन, कृषि औजार, मोबाइल तथा इलेक्ट्रोनिक्स सामानको प्रदर्शनी, सांस्कृतिक, व्यापार तथा पर्यटकीय प्रदर्शनी, लत्ताकपडा तथा भाँडाकुडाको प्रदर्शनी, एशियाकै उत्कृष्ट बाल उद्यान, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खाना महोत्सव तथा विविध प्रस्तुति रहने संयोजक थापाले जानकारी दिए।

सामानमा २० देखि ५० प्रतिशतसम्म छुट दिने व्यवस्था गरिएको जानकारी दिँदै उनले मेलामा करिब पाँच लाखभन्दा बढी उपभोक्ताको आगमन हुने अनुमान गरिएको र करिब रु आठ करोडको कारोबार हुने अपेक्षा गरिएको जानकारी दिए। मनोरञ्जनका लागि मेलामा बाल उद्यान, रोटेपिङ, रेनजर, मारुती सर्कस, ड्रागन ब्रेक डान्स, नाउ तथा बच्चाको खेलौना, राष्ट्रियस्तरका कलाकारको हास्य व्यङ्ग्य, नृत्य तथा गीत गायनको प्रस्तुति रहने जानकारी दिँदै उनले नृत्य प्रतियोगितासमेत गरिने बताए।

मेलामा भक्तपुर, काठमाडौँ, ललितपुर, काभ्रेदेखि आसपासका जिल्लाका बासिन्दाले यसबाट लाभ लिनसक्ने मेलाका आयोजकले बताएका छन्। मेलामा प्रवेशका लागि विद्यार्थीलाई रु ४० र अन्यका लागि रु ५० शुल्कको व्यवस्था गरिएको छ।

प्रकाशित मिति: १८:५१ बजे, बुधबार, चैत ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्