अफगानिस्तानमा छात्रालाई विद्यालय जान दिने निर्णय रद्द
काबुल, चैत ९ : अफगानिस्तानमा छात्रालाई विद्यालय जान दिने निर्णय रद्ध भएको छ।सर्वत्र दबाबपछि अफगानिस्तानको तालिवान सरकारले बुधबारदेखि छात्रालाई विद्यालय जान दिने निर्णय...
काबुल, चैत ९ : अफगानिस्तानमा छात्रालाई विद्यालय जान दिने निर्णय रद्द भएको छ।
सर्वत्र दबाबपछि अफगानिस्तानको तालिवान सरकारले बुधबारदेखि छात्रालाई विद्यालय जान दिने निर्णय गरेको थियो तर विद्यालय जान दिने निर्णय कार्यान्वयन हुने केही घन्टाअगाडि निर्णय नै रद्द गरिएको हाे।
छात्रालाई विद्यालय जान दिने निर्णय कार्यान्वयन नहुने भएको सरकारी अधिकारीहरुले पनि पुष्टि गरेका छन् । तर किन निर्णय रद्द गरियो भन्ने बारेमा भने उनीहरुले केही बताएका छैनन्। छात्रालाई विद्यालय जान दिने निर्णयबाट खुसी भएकाहरु अहिले निर्णय कार्यान्वयन नहुने भएपछि दुखी भएका छन्।
छात्रालाई विद्यालय जान दिने निर्णय तत्काल कार्यान्वयन नहुने हो भन्ने पत्रकारहरुको प्रश्नमा तालिवान प्रवक्ता इनामुल्लाह सामाङ्गानीले भने, 'हो, त्यो सत्य हो।' सरकारले निर्णय कार्यान्वयन नगर्ने भएपछि विद्यालय जाने तयारीमा रहेका छात्रा घरमै बस्न बाध्य भएका छन्।
'निर्णय कार्यान्वन हुन नसक्नुको कारणबारे अहिले नै विस्तृत व्याख्या गर्न हामीलाई अनुमति छैन,' शिक्षा मन्त्रालयका प्रवक्ता अजिज अहमद रायनले भने।
अफगानिस्तानमा तालिवान सरकार गठन भएपछि महिला अधिकार खोसिएको भन्दै अधिकारवादीहरुले निरन्तर आवाज उठादै आएका थिए। उनीहरुको दवावका कारण तालिवान उच्च अधिकारीहरुले महिलाहरुको अधिकार पुनर्बहाली हुने दावी पनि गर्दै आएका थिए।
विश्वभरिबाट आएको दवावका कारण तालिवान सरकारले छात्रालाई अध्ययन अध्यापन, रोजगारी लगायतका कार्य गर्न दिने निर्णय पनि गरेको थियो। तर अहिले आएर एकाएक त्यस निर्णयबाट तालिवान सरकार पछाडि हटेको छ।
तालिवान सरकारले छात्रालाई विद्यालय जान दिने निर्णयबाट पछाडि हटेकोप्रति संयुक्त राष्ट्रसंघले पनि आपत्ति जनाएको छ। राष्ट्रसंघीय अधिकारीहरुले तालिवान सरकारको पछिल्लो निर्णयबाट अत्यन्त दुखी बनाएको टिप्पणी गरेका छन्।












