Kathmandu Press

नेपाल एयरलाइन्सले दशैंपछि जापानको ओसाका उडान बन्द गर्ने 

काठमाडौं, असोज १२ : जापानको ओसाका उडानमा यात्रु नपाएपछि नेपाल वायुसेवा निगमले उडान बन्द गर्ने तयारी गरेको छ।

उडान रोकिएको १२ वर्षप....

नेपाल एयरलाइन्सले दशैंपछि जापानको ओसाका उडान बन्द गर्ने 
फाइल

काठमाडौं, असोज १२ : जापानको ओसाका उडानमा यात्रु नपाएपछि नेपाल वायुसेवा निगमले उडान बन्द गर्ने तयारी गरेको छ।

उडान रोकिएको १२ वर्षपछि तामझामसहित गत भदौ १२ गतेदेखि फेरि उडान सुरु गरेको निगमले यात्रु नै नपाएको भन्दै दशैं लगत्तै उडान बन्द गर्ने तयारी गरेको हो। 

ओसाका उडानको तयारी भइरहेका बेला प्रधानमन्त्री ओली ओसाका नभएर नारिता उडान गर्न निर्देशन दिएका थिए। तर, प्रधानमन्त्री ओलीकै निर्देशन अटेर गर्दै  कार्यकारी अध्यक्ष खरेलले ओसाका उडान सुरू गराएका थिए। तर अहिले दैनिक करोडाैं घाटा ब्यहोर्नु परेपछि निगमले ओसाका उडान बन्द गर्ने तयारी थालेको निगमका एक उच्च अधिकारीले बताए।

Hardik ivf

‘कार्यकारी अध्यक्षले जोडबल गर्दा ओसाका उडान जानु परेको थियो। तर, अहिले करोडाैं घाटा निगमले दैनिक खानु परेको छ। त्यसैले उडान बन्द गर्ने अवस्थामा निगम पुगेको छ,’ निगम स्रोतले भन्यो। गत वर्ष खरिद गरिएको एयरबस ३३० वाइडबडी जहाजमार्फत जापानमा उडान सुरु गरिएको थियो।

निगम नेतृत्व प्रचारप्रसारमा चुकेपछि २ सय ७४ सिटको ठूलो जहाज रित्तै उडान गरिएको छ। सुरुका दिनमा सबै एयरलाइन्सलाई यात्रु पाउन मुस्किल हुने भन्दै कार्यकारी अध्यक्ष खरेलले केही महिना उडान ट्रायल गर्नुपर्नेमा जोड दिएका थिए। उडानको पूर्वसन्ध्यामा आयोजित कार्यक्रममा खरेलले केही महिनामा यात्रु नपाए उडान रोक्ने बताएका थिए। 

उडान सुरु गरेको पहिलो दिन १ सय ४९ जना लिएर ओसाका उडेको निगम त्यसयता कुनै पनि दिन एक सय यात्रु समेत पाउन सकेको छैन। दशैंको समयमा ओसाका–काठमाडौं उडानमा केही यात्रु संख्या बढेपनि दशैंपछि उडान गर्न नसक्ने अवस्थामा निगम पुगेको छ।

निगमले काठमाडाैं–नारिता उडानलाई जोड दिँदै  ओसाका उडान रोक्न खोजेको निगम स्रोतले जनाएको छ। सातामा तीन उडान थालेको निगमले यात्रु नपाएपछि  हाल दुई उडान मात्रै गर्दै आएको छ। त्यसमा पनि यात्रु अभाव भएपछि दशैं गलत्तै उडान रोक्ने अवस्थामा पुगेको निगम स्रोतले जानकारी दिएको छ। 

यसअघि पनि निगमले असार १९ देखि जापानको ओसाका उडान गर्ने भन्दै प्रचार गरेको थियो। उडान मिति नजिकिँदा पनि टिकट बुकिङ नभएको भन्दै निगमले २५ दिन अघि नै रद्द गरेको थियो।  निगमले एयरवस ३३०–२०० सिरिजको वाइडबडी जहाज खरिदसँगै ओसाका उडान गर्ने बताउँदै आएको भएपनि अहिलेसम्म उडान गर्न भने असफल हुँदै आएको थियो।

‘पछिल्लो समय नेपालीहरु जापानको नारिता बस्ने भएकाले पनि ओसाका उडान गर्नु गल्ती भएको हो।  अब नारिता उडान गरेर सच्चिनु पर्छ,’ निगमका एक उच्च अधिकारीले भने। जापानको नारितामा उडान अनुमति पाइसकेको अवस्थामा कार्यकारी अध्यक्ष खरेलले ओसाका उडानका लागि प्रक्रिया सुरु गरेका थिए। निगमले एयरबस ३३०–२०० सिरिजको जहाज खरिद गरेको एक वर्ष पूरा भइसक्दा पनि लामो दूरीको उडान गराउन निगम व्यवस्थापन असफल हुँदै आएको थियो।

निगमले सातामा तीन दिन मंगलबार, बिहीबार र शनिबार ओसाका उडान सुरु गरेको थियो। निगमले सन् १९९४ देखि सन् २००७ सम्म सातामा दुई उडान गरेको थियो। जहाज अभाव हुँदै गएपछि आकर्षक मानिएको जापानको गन्तव्य निगमले गुमाएको छ।  विगतमा निगमले हाल रहेको बोइङ ७५७ सिरिजको न्यारोबडी जहाजमार्फत ओसाका उडाउँदै आएको थियो। 

विद्यार्थी तथा रोजगारी भिषामा वर्षेनी हजाराैं नेपाली जापान जाने गरेका छन्। हाल एक लाखभन्दा बढी नेपालीहरु जापानमा रहेको अनुमान छ।  जापानसँग सिधा हवाई उडान नहुँदा नेपाल आउने जापनिज पर्यटकको संख्या समेत बढ्न सकेको छैन।

सिधा उडान हुन नसक्दा जापानबाट नेपाल आउने पर्यटन संख्या प्रत्येक वर्ष घट्दै गएका छन्। निगमले हाल दुई वटा वाइडबडी, दुई वटा एयरबस ३२० सिरिजका न्यारोवडी जहाज र एउटा बोइङ ७५७ सिरिजको न्यारोबडी जहाजमार्फत ९ अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गरिरहेको छ।
 

प्रकाशित मिति: १९:५३ बजे, आइतबार, असोज १२, २०७६
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्